बुटवल–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनको कारण निर्माण क्षेत्रमा रहेका मजदुरहरु समस्यामा परेका छन् ।
काम नहुँदा र हातमुख जोर्न समस्या हुँदा मुलुकका विभिन्न ठाउँमा रहेका मजदुरहरु पैदलै आफ्नो घर तर्फ लागेका छन् । काठमाण्डौ लगायत विभिन्न ठाउँबाट हिडेर आएकाहरुलाई रुपन्देहीको सैनामैना नगरपालिकाले आइतबार बसको व्यवस्था गरेर घर पठाएको थियो । उनीहरु लामो बाटो दिन रात हिडेर पैदल यहाँ आएका थिए ।
सैनामैना नगरपालिकाले घर पठाउनुअघि कोही सडकमा हिडिरहेका थिए । कोही छहारीमा बसेका थिए । बुटवल १२ बेलबासमा राजमार्ग किनारको एउटा चौपारीमा पाँच जना किशोर तथा युवाहरु सुस्ताइरहेका थिए । निकै थकित मुद्रामा रहेका उनीहरु एकसय २० किलोमिटर भन्दा बढी हिडेर यहाँ आइपुगेका थिए । पुग्नुपर्ने गन्तव्य यसको दोब्बर भन्दा बढी थियो ।
यसरी दिनहुँ पूर्वपश्चिम राजमार्गमा सोलुखुम्बुदेखि, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, चितवन, नवलपरासीका जिल्लाहरुबाट आफ्नो घर फर्किन हिड्नेहरुको लर्को देखिन्छ ।
उनीहरु कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा, प्युठान जान भन्दै हिडेका भेटिन्छन् ।
सडकमा पैदलै हिडिरहेका धादिङको सल्यानटारमा घर बनाउने ज्यामी काम गरिरहेको र काम ठप्प भएपछि घर हिडेको प्रकाश थारुले बताए ।
‘घर बनाउन त्यहाँ बसेको दुई महिना जति भयो । लकडाउनले बिचैमा काम रोकियो ।’ उनले भने–‘खाली बसेर के खाने त्यसैले आफ्नै घर जाउँ भनेर हिडेको’ एकै ठाउँमा काम गर्ने ९ जनाको समुह बनाएर लामो पैदल यात्रा गरेका थिए । बाँकी ४ जना पछाडि आउँदै गरेको प्रकाशले बताए ।
धादिङको मलेखुबाट ट्रकमा चितवनको नारायणगढ सम्म जसोतसो आए । त्यसपछि पैदल हिडेर आएको अर्का पैदलयात्री रामकुमार थारुले बताए । ‘हामी आज ३ दिन भयो नारायणगढबाट हिडेको । ठाउँ ठाउँमा एक छिन बस्दै हिडेर यहाँ सम्म आयौं–उनले भने–‘निदाएका पनि छैनौं रातभर पनि हिड्छौं । कतिखेर घर पुगिएला भन्ने चिन्ता छ ।’
लगातारको अनिदो मात्र होइन उनीहरुले खाना समेत राम्रोसँग खाएका छैनन् । तिन दिनको यात्रामा बिचमा एक छाक मात्र खाना खाएको रामकुमारले सुनाए । ‘बुटवल आउनुभन्दा अगाडि (देवदह नगरपालिका भलुहीमा रहेको) गौशालामा आएर मात्र खाना खायौं ।’–थकित मुद्रामा रहेका उनले भने–‘अरु ठाउँमा त चिउरा र केरा मात्र खायौं ।’
कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि भन्दै चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको छ ।
हप्ता दिनमा लकडाउन खुल्ला भन्ने आशामा जेनतेन काम गर्ने ठाउँमै बसेका मजदुरहरु लकडाउन लम्बिएपछि समस्यामा परेका हुन् । खान समस्या परेपछि उनीहरुले कठीन पैदल यात्रा गरेर भएपनि घरजान हिडेका हुन् ।
पूर्वपश्चिम राजमार्गको खाली सडकमा ठाउँ ठाउँमा कतै हिडेका र कतै विश्राम गरेका पैदलयात्रुहरु भेटिन्थे ।
दिउसो ३ बजेतिर सैनामैना नगरपालिकाको झारबैराको एक प्रतिक्षालयमा पनि ६ जना विश्राम गरिरहेका भेटिएका थिए । काठमाडौबाट बुटवल पूर्वको खैरेनीसम्म ट्रकमा आए ।
त्यहाँबाट ३५ किलोमिटर पैदल हिडेर आइपुगेका उनीहरु बर्दियाका हुन् । ‘राती १२ बजेदेखी बिसाउँदै हिड्दै गरेर आइयो,–पैदल यात्रु श्रीराम थारुले भने ‘गाडी पाइयो भने फेरी चढेर जाने हो । नभए हिड्नै पर्यो ।’
काठमाडौमा ज्यामी काम गर्ने उनीहरु पनि काम राकिएपछि आफ्नो घर हिडेका हुन् । बुुटवलको नयाँ गाउँमा ७ जनाको समुह पश्चिम जाने ट्रकमा चढेर गएका थिए । आफूहरु सुर्खेत जाने भएपनि गाडी जहाँसम्म जान्छ त्यही सम्म हिडेको एक यात्रुले बताए ।
लकडाउनको बेला काम गर्ने ठाउँमा हातमुख जोर्न समस्या भएपछि घर पुग्नु बाहेक उनीहरुसँग विकल्प छैन । त्यसैले लकडाउनको बेलामा सर्वसाधारण स्थानिय घर भित्रै भएपनि टाढाको लामो पैदल यात्रा गरेर आएका मजदुरहरु सडकमा देखिइरहन्छन् । मालबाहक ट्रकले रोके भने जान्छन् । नत्र दुइखुट्टा जसो तसो चलाइरहेका छन् ।