बुटवल–केहीसमय अघिसम्म ओझेलमा थियो जितगढी किल्ला । त्यसैमा केही वर्ष अघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि त्यहाँ अतिक्रमणसुरु भयो । केही समयमै अतिक्रमण तीब्र भयो र किल्ला नै छोपिने अवस्थामा पुग्यो ।
बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास गर्न लागिएको छ ।
ऐतिहासिक सम्पदाका रुपमा रहेको यो किल्लाको संरक्षणको पहल भएको झण्डै २१ वर्षपछि बुटवल उपमहानगरपालिकाले अहिले विशेष कार्यक्रम बनाएर संरक्षण सुरु गरेको छ ।
०५४ सालमा जिल्ला विकास समितिले करिब दुई लाख रुपैयाँ विनियोजन गर्दै यो सम्पदाको संरक्षणका लागि औपचारिक काम सुरु भएको थियो । बीचमा यत्तिकै रहेको यो क्षेत्रको संरक्षणको काम अहिले सुरु भएको छ ।
उतिबेला जिविसमार्फत बजेट विनियोजन गर्दै संरक्षण सुरु गरेका जिविस सदस्य शिवराज सुवेदी अहिले बुटवलको नगर प्रमुखको रुपमा निर्वाचित भएपछि नगरसभामार्फत जितगढी किल्ला विजय उत्सवको आधिकारिक तिथि, मिति नै तय गरेर यस्तो विशेष कार्यक्रम सुरु गरेका हुन् ।
उतिबेला जिविस सदस्यका रुपमा रहेका बेलामा दुई लाख रुपैयाँ विनियोजन गरेका सुवेदीले अहिले जितगढी सम्पदाको गुरुयोजना बनाएका छन् । उनी निर्वाचित भएकै वर्ष भित्री संरचना निर्माणलगायतका कामका लागि एकैपटक ५० लाख रकम विनियोजन गर्दै विशेष काम सुरु गराएका थिए ।
विजय उत्सव दिवसको तेस्रो वर्षसम्म आइपुग्दा बुटवलले जितगढीको गुरुयोजना नै बनाएको छ । गुरुयोजना अनुरुपको विस्तृत परियोजना प्रतिवेदन तयार पार्दै निर्माणका कामसमेत अगाडि बढेका छन् । अहिले जितगढी सम्पदाको संरक्षण र सम्बद्र्धनका प्रभावकारी काम भइरहेका छन् ।
जग्गा अधिग्रहणसहित एक अर्ब लागत अनुमान गर्दै बुटवलले गुरुयोजना तयार पारेको छ । गुरुयोजनालाई कार्यपालिका बैठकमार्फत पारित गर्दै काम नै सुरु भइसकेको छ । ऐतिहासिक सम्पदाको रुपमा रहेको जितगढी किल्लाको गुरुयोजना तयार भएर जग्गा अधिग्रहणको कानुनी काम अगाडि बढिसकेको प्रमुख सुवेदीले जानकारी दिए ।
जितगढीमा अंग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वि.सं. १८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उप–महानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउन सुरु गरेको थियो । जितगढीमा वि.सं.१८७२ बैशाख ७ गते भएको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । सोही दिन (बैशाख ७ गते) लाई विजय उत्सव दिवसका रुपमा बुटवल उप–महानगरपालिकाले मनाउन लागेको हो ।
किल्लाको संरक्षण र सम्बद्र्धन गर्दै यसलाई प्रदेशको मात्र नभई देशकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने बुटवलको लक्ष्य छ । जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा, कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक निर्माण गरिसकेको छ । अब यहाँ थप नयाँ संरचनासमेत निर्माण हुने छन् । जितगढी किल्ला परिसरमा रहेको करिब तीन बिगाहा जग्गामा विभिन्न संरचना निर्माणका लागि गुरुयोजना बनाइएको छ । त्यहाँ सार्वजनिक, सरकारी पुर्जा तथा व्यक्तिको नामको र सुकुम्बासी जग्गा रहेको छ । यी सबैलाई एकैठाउमा समेट्ने तथा व्यक्तिको जग्गा र त्यहाँ बनेका घरहरुको समेत मुआब्जा दिएर किल्लामा ल्याइने छ ।
अहिले राखिएको झण्डाको संरचना फेरिने छ । भने उजिरसिंहसहित अरु १३ जना वीर नेपालीको पनि सालिक निर्माण गरिने छ । किल्लाको बाहिरी र वरपरको भागलाई आकर्षक बनाइने छ, तिनाउ नदीलाई व्यवस्थित गर्दै जलपर्यटनका रुपमा विकास गरिने छ भने किल्लासंगै पर्यटनलाई मणिमुकुन्दसेन दरबार क्षेत्र, नुवाकोट गढीसहितका पर्यटन क्षेत्रसंग जोडेर सर्किट बनाइने छ । रामापिथेकश क्षेत्र र अरु पार्कहरुलाईसमेत जोडेर एकीकृत पर्यटन गन्तव्य बनाउने गरि गुरुयोजना बनाएर काम सुरु गरिएको प्रमुख सुवेदीले बताए ।
बुटवल उपमहानगरले गत कात्तिकमा इतिहासविद्, इतिहासका जानकार तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर जितगढी युद्धमा साहदत प्राप्त गर्नेहरुको खोजी र पहिचान गर्न लगाएको थियो । उक्त कार्यदलमा संयोजक झपेन्द्र जी.सी. र सदस्यहरु डा.सूर्यबहादुर जी.सी.विमलबहादुर शाक्य, चन्दा रावल, निर्मल श्रेष्ठ तथा रवीन्दगोपाल लाकौल र वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ रहेका थिए ।
उक्त कर्यदलले ती वीर नेपालीका वंशका परिवार तथा आफन्त, नेपाली सेनाका मातहतका विभिन्न अड्डा र इतिहासविदसंग विभिन्न समयमा छलफल गरेको थियो । कार्यदलका संयोजक जिसीले रक्षा मन्त्रालय, सैनिक मुख्यालय, कार्यरथी विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी, सैनिक सङ्ग्रहालय छाउनी र सैनिक पुस्तकालय भद्रकाली समेतमा पुगेर अध्यय्न गरेको बताए ।
सोही कार्यदलले तयार पारेको रिपोर्टका आधारमा जितगढीमा वीर नेपालीका १३ शालिक निर्माण भइरहेको छ । कार्यदलले जितगढीको युद्धमा कमान गर्नेहरु र शहादत प्राप्त गर्ने योद्धाहरुको खोजी पहिचान र तस्विर खाजेर प्रमाणिकरण गर्दै उपमहानगरलाई बुझाएलगत्तै शालिक निर्माणका काम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । चालु आवमा नै निर्माण सम्पन्न गर्नेगरि जितगढीमा लडेका विभिन्न १३ जना वीर नेपालीको शालिक निर्माण गरिरहेको छ । यद्यपि पछिल्लो महामारीको प्रकोपले काम प्रभावित भएको छ ।
संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, नेपाली सेनालगायतका सुरक्षा निकायहरु, वटौली संरक्षण समिति तथा स्थानीय संघ–संस्था तथा क्लबहरुको सहकार्यमा जितगढीको संरक्षण र सम्बद्र्धनका तथा बटौली पर्यटन सर्किट व्यवस्थित गर्ने काम भइरहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उनले जितगढीलाई केन्द्रमा राखेर वरपरका क्षेत्र र बैठौलिया तालसम्म एउटै सर्किटमा जोडिने बताए ।
जितगढी किल्ला परिसरमा रहेको पुरानो नगरपालिका भवन, (वडा कार्यालय) हटाइएको छ । सोही स्थानमा प्रदेश सरकारबाट जितगढी युद्ध संग्राहलय (बटौली संग्राहलय) स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको वडा नं. १ का अध्यक्ष महेन्द्र लिगलले जानकारी दिए । उनले अबको जितगढी बल्ल ऐतिहासिक धरोहर, राष्ट्रियताको पहरेदार र वीरताको किल्लाका रुपमा देखिने बताए ।
अब यस्ता संरचना बन्ने छन्
१) मुल गेट र ऐतिहासिक पथ
–मुल गेट बुर्जा शैलीमा बनाईने जुन मणिमुकुन्द सेनको पालामा चलेको शैली हो । गेटको छानोको मध्यभागमा नेपालको झण्डा राखिने । गेटको दुवैतिर तोप राखिने छ । टिकट काउण्टर र गार्डको लागि अलग्गै ठाउँ रहने छ । ऐतिहासिक पथमा एङ्लो–नेपाल युद्धको ऐतिहासिक समयानुक्रम र युद्ध सेनाहरुको परिचयात्मक फोटोसहितको ब्याकग्राउण्ड राखिने छ । यी युद्ध सेनाहरुले कोलोनेल (कर्णेल) उजिरसिंह थापालाई वरिपरिबाट घेरेर राखेको जस्तो देखाइने छ ।
२) विशाल राष्ट्रिय झण्डा
–अहिलेको झण्डाको संरचना परिवर्तन हुने छ । थोरै स्थान लिने गरी एउटै खम्बामा झण्डा फहराइने छ । उजिरसिंहको शालीक अगाडिको भागमा खाली ठाउँ राखिएको छ । समतल भूभागभन्दा केही माथि उठाइएको यो खाली ठाउँमा एक सय जना सिपाहीहरुले उजिरसिंहलाई सलामी ठोक्न सक्नेछन् । किल्लामा सेनाहरुलाई त्यहीँ बसेर किल्लाको सुरक्षा गर्न आर्मी क्वार्टरको डिजाइन गरिएको छ । यसका अलावा यी किल्लाका प्रत्यक कुनाहरुमा क्वाटर बनाइने छ । आर्मी क्वार्टरमा लवी, किचन, बेडरुम र ट्वाइलेट तथा बाथरुम बनाइने छ ।
३) पुल
–संरक्षण गर्नुपर्ने क्षेत्रमा नै अहिलेको पुलको फाउण्डेशन रहेकाले नयाँ पुल प्रस्ताव गरिएको छ । पुलले अवलोकनकर्ताहरुलाई किल्लाको पूर्व र पश्चीम तर्फ अवलोकन गर्न मिल्ने गरि बनाइने छ । एउटै पुलबाट अवलोकनकर्ताहरुले गढीको फेँदमै जान मिल्ने र माथि पनि आउन मिल्ने गरि पुल बनाइने छ ।
५) सेनाका सालिक
–जितगढी युद्धमा सहादत प्राप्त गर्ने वीर नेपाली सेनाको सालिक निर्माण गरिने भएको छ । पुलबाटै अवलोकन गर्न मिल्ने गरी युद्धमा लडीरहेका जस्तो देखिने गरि युद्धसेनाहरुको शालीक बनाइने छ । तर, पुलबाटमात्रै अवलोकन गर्न मिल्ने छ । नजिक जान भने मिल्ने छैन ।
६) भ्यू डेक
–किल्लाको पूर्वतर्फ बगिरहेको तिनाउ नदि अवलोकन गर्न मिल्ने गरी भ्यू डेक बनाईने छ ।
७) फोटो बुथ
–उजिरसिंह थापाको पोजीशनमा फोटो खिच्न चाहने अवलोकनकर्ताहरुको लागि फोटो खिच्न मिल्ने एउटा फोटो बुथ निर्माण गरिने छ ।
८) एमफीथियटर (रंगभूमि)
– साँझमा सराया नाचलगायतका सास्कृतिक नाच तथा झाँकीहरु प्रदर्शन गर्न मिल्ने गरी छुट्टै स्थान तोकिने छ ।
९) मन्दिर
–अहिलेको मन्दिरलाई जस्ताको तस्तै राखिने छ । यसको संरचनामा कुनै परिवर्तन गरिने छैन ।
१०) ग्रेटर नेपाल र शिलालेख
–रंगभूमिको पछाडीको भागमा अवलोकन कर्ताहरुले नेपालको रणनैतिक आक्रमणका ठाउँहरु देखाईएको नेपालको ठूलो तस्वीर राखिने छ । तस्वीरको अगाडीको भागमा विभिन्न समयको प्रतिनिधित्व हुने गरी एङ्लो नेपाल युद्धको समयानुक्रम देखाइने छ ।
११) स्मारक
–एङ्लो नेपाल युद्धको झझल्को आउने गरी एउटा स्मारक डिजाइन गरिएको छ । अवलोकनकर्ताहरुले किल्लाबाट बाहिर निस्कने द्वारमा यसलाई अवलोकन गर्न सक्नेछन् । किल्लामा यहाँका स्थानीयको सहयोगमा बुटवल उपमहानगरपालिका र पपुरातत्व विभागले उत्खनन् सुरु गरिसकेको छ । त्यसैलले उत्खनन् भएका क्षेत्रमा आँशीक रुपमा मात्रै अवलोक कर्ताहरुलाई जान दिन मिल्ने बनाईएको छ । उत्खनन् भएको क्षेत्रलाई पानी र खराब मौसमबाट बचाउन संरचना तयार पारिने छ ।
अहिलेको किल्लाको संरचनाको ठिक्क बाहिर पट्टी मायाको चिनोहरु बेच्ने ठाउँ र कार्यालय बनाइने छ । यहाँ चारचक्के र दुईचक्केको लागि पार्कीङसमेत बनाइने छ । सालिक र यी कामका लागि कुल लागत ८ करोड, १२ लाख ८९ हजार २७ रुपैंयाँ लागत अनुमान गर्दै काम सुरु भइसकेको छ । जग्गा अधिग्रहण र मुआब्जाका लागि लाग्ने बजेट र विवरण प्रदेश सरकार तथा संघीय सरकारमा पठाइसकिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । मुआब्जा र संरचना निर्माणका कामका लागि झण्डै एक अब लागत अनुमान गरिएको छ ।
को कस्को बन्दै छ शालिक ?
१ कर्णेल उजिरसिंह थापा (सबुज) (निर्माण पूरा भएर गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनावरण) । २.काजी वीरभञ्जन पॉडे (गुरुबक्स कम्पनी) । ३.कुम्भेदान कृपासुर थापा । ४.दलखम्ब थापा । ५.समशेर राना मगर । ६. सरदार सूर्जे थापा । ७.लेफ्टीनेन्ट अम्बर अधिकारी । ८.कुम्भेदान वृषसुर थापा । ९.जमदार भीमसेन देउजा । १०.जमदार शूरवीर बोहरा । ११.हवल्दार रणशूर बानियां । १२ सिपाही हंशवीर अधिकारी । १३. थरघर नकुल बानियां । १४.जुठे वस्नेत ।
कस्तो छ जितगढी किल्ला ?
इतिहासकार सोमध्वज विष्टका अनुसार किराँत र लिच्छवीकालदेखि किल्लाहरु व्यापक रुपमा बन्न थालेका थिए । पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियान पछि सुगौली सन्धि नहुन्जेलसम्मको समयमा पनि नेपालमा विभिन्न किल्लाहरु बनेको जानकारी पाइन्छ । छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदाहरुमध्ये जीतगढी पनि एक हो । बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ खोलाको वायाँ किनारमा अवस्थित छ । समुद्र सतहभन्दा करीब १४८ मिटरको उचाईमा अवस्थित यो गढी पूर्वदेखि पश्चिमतिर फैलिएको छ । गढीको दक्षिण र पूर्वतिरको भाग मात्र बाँकी रहेको छ । चारैतिरबाट हाल गढी घेरिएको अवस्थामा रहेको छ । जितगढी किल्लाको उत्खनन प्रारम्भ आ.व. ०५५/५६ (पुरातत्व विभाग) । २०७० माघ ८ गतेदेखि पुनः उत्खनन भएपनि अहिले रोकिएको छ । उत्खनन गरेर सुरुङको अवस्था पत्ता लागउनुपर्ने माग उठिरहेको छ ।