बुटवल-सरकारले यस बर्षको बौद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय सम्मेलनका अौपचारिक कार्यक्रम स्थगित गरेको छ । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरीे पूजा र प्रार्थना भने गरिने छ ।
कोरोना भाईरसका कारण बिश्वका अधिकांश देशसंगै नेपाल लकडाउनमा रहेका कारण सरकारले २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका पूवनिर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको हो ।
कोषका अनुसार सीमित व्यक्तिको उपस्थितिमा सामान्य कार्यक्रम भने हुनेछन् । लुम्बिनी विकास कोषले यस बर्षका लागि तय गरेका बुद्ध जयन्ती तथा बौद्ध सम्मेलनका सबै कार्यक्रम स्थगित गरेको लुम्बिनी बिकास कोषका योजना प्रमुख ई. सरोज भट्टराईले जानकारी दिए ।
यस वर्ष २५ वैशाखका दिन वैशाख शूक्ल पूणिर्मा तथा बौद्ध जयन्ती मनाइदैछ । लुम्बनी विकास कोषका योजना प्रमुख ई. भट्टराईका अनुसार मायादेवी परिसरमा भिडभाड नगरी २५६४ वटा दीप प्रज्वलन गर्ने, लुम्बिनी उपस्थित भिक्षु भिक्षुणीबाट बिश्व शान्तिको कामना गर्दै पुजापाठ तथा प्रार्थना गर्ने लगायतका अनौपचारिक कार्यक्रम मात्र गरिने छ ।
लुम्बिनीमा वैशाख २४, २५ र २६ गते भने दीप प्रज्वलन गरिने भएको छ । कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आहृवान समेत गरेको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो । यसका लागि मन्त्री योगेश भट्टराईको अध्यक्षमा आयोजक समिति र काठमाडौमा सचिवालयसमेत स्थापना गरी काम थालिएको थियो ।