दाङ । दाङको तुलसीपुरमा हायसले अटोलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुुर्याए लगतै बुधवार बेलुका साढे ७ बजेतिर चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनामा परि चौधरीकी १७ महिनाकी छोरी अदिती चौधरी र तुलसीपुर १६ कै अन्दाजी ६० बर्षीय अर्का एक पुरुष गम्भीर घाइते भएका छन् । अदिती र नाम खुल्न नसकेका अर्का एक पुरुषलाई तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।
दुर्घटनामा परि अटो चालक तुलसीपुर १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय ज्ञानबहादुर चौधरी, सोही ठाउँका अन्दाजी २४ बर्षीय प्रविण चौधरी र घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी अन्दाजी २३ बर्षीय विजय चौधरी घाइते भएका छन् । उनीहरु सबैको उपचार तुलसीपुरमै भइरहेको छ ।
तुलसीपुर बजारबाट दक्षिण तर्फ जाँदै गरेको रा १ ह ३५४९ नम्वरको अटोलाई नेपालगञ्जवाट तुलसीपुर बजार तर्फ आउँदै गरेको बा २ ख ३९५९ नम्वरको हायसले तुलसीपुरको स्टारचोकमा बुधवार बेलुका सवा ७ बजेतिर ठक्कर दिदा उक्त दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा डिएसपी हरिहरनाथ योगीले मृतक लक्ष्मी चौधरी अटो चालक ज्ञानबहादुर चौधरीको पत्नि रहेको जानकारी दिए ।
१७ महिनाकी गम्भीर घाइते अदिती चौधरी पनि उनीहरुको छोरी भएको प्रहरीले बताएको छ । डिएसपी योगीले एक स्कूटीलाई अटोले ओभरट्याक गर्ने क्रममा उक्त दुर्घटना भएको जानकारी दिए ।