बुटवल। नर्वेली नोबेल कमिटीले बर्ष २०२१ को नोबेल शान्ति पुरस्कार पत्रकारहरु मरिया रेसा र दिमित्री मुरातोभलाई दिने निर्णय गरेको छ। लोकतन्त्र र शान्तिका लागि पूवसर्त मानिएको अभिव्यक्ति स्वतन्त्रताको सुरक्षार्थ योगदान गरेको भन्दै कमिटीले यी दुईलाई नोबेल पुरस्कार दिएको हो।
"रेसा र मुरातोभले फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताका लागि साहसपूर्ण लडाइँ लडेकाले नोबेल पुरस्कार पाएका हुन्," विज्ञप्तिमा भनिएको छ।
रेसाले फिलिपिन्समा 'राप्लर' नामक खोजमूलक डिजिटल पत्रिकाको सुरुआत गरेकी थिइन्। पत्रिकामार्फत उनले आफ्नो देशमा हुर्किरहेको अधिनायकवाद र शक्तिको दुरुपयोगविरुद्ध संघर्ष गर्दै आएकी छन्।
त्यस्तै मुरातोभले दशकौंदेखि रसियामा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन्। सन् १९९३ मा 'नोभाजा गजेट' नामक स्वतन्त्र पत्रिका स्थापना गरी शक्तिका सामू आलोचनात्मक चेत बलियो प्रस्तुत गर्दै आएकाले उनलाई पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ। पत्रिकामा उनी २४ बर्षदेखि प्रधानसम्पादकका रुपमा काम गर्दै आएका छन्।