रुपन्देही । लुम्बिनी प्रदेशमा यो वर्ष ३२.७१ प्रतिशत धान रोपाइँ भएको छ । गतवर्ष यो अवधिमा करिब ४६ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष समयमै पर्याप्त वर्षा नहुँदा र किसानले मल नपाउँदा रोपाइँ कम भएको हो ।
प्रदेशमा धान रोपाई हुने तीन लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म एक लाख चार हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबै भन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाइँ भएको छ । नवलपरासीमा धान रोपाइँ हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये ४ हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको दोस्रोे धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ ।
कपिलबस्तुमा धान खेती हुने कुल७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।रुकुम पूर्वमा ६५ प्रतिशत, रोल्पामा ६०.२० प्रतिशत रोपाईँ सकिएको छ । प्यूठानमा ६० प्रतिशत, दाङमा ३१.५० प्रतिशत, बर्दियामा ३४.७८ प्रतिशत, अर्घाखाँचीमा २४ प्रतिशत, गुल्मीमा २७ प्रतिशत, पाल्पामा ३५ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी गौतमले बताउनुभयो ।