रूपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्नुभएको छ ।
सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका – ८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहीत गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाक्री लगायत विभिन्न विशष्ट व्यक्तिहरुको सहभागिता रहेको छ ।
सहरी विकास मन्त्रालयको रु एक अर्ब ११ करोड लागतमा दुई चरणमा गरी सम्मेलन केन्द्र निर्माण भएको हो ।
नेकपा एमालेका उपाध्यक्ष तथा यस क्षेत्रका सांसद समेत रहनुभएका पौडेलको पहल र अगुवाईमा निर्माण भएको सम्मेलन केन्द्रको पहिलो चरणमा एक हजार क्षमताको मुख्य सभा हल रहेको भवन, दुइटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ अडियो, ट्रान्सलेटर लगायतका कक्ष निर्माण भएका छन् । दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुइटा ५०–५० र दुइटा १–१ सय क्षमताका हल छन् ।