रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्न सकेमात्रै मुलुकमा समृद्धि आउने बताउनुभएको छ ।
भ्रष्टाचारका कारण देश आर्थिक संकटबाट माथी उठ्न नसकेको औँल्याउँदै उहाँले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सकियता रहनुपर्नेमा जोड दिनुभयो ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले भन्नुभयो –“भ्रष्टाचार खतरनाक हतियार हो यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छ्न । आयोगको ध्यान यता जाओस् ।”
आयोगको दायरा धेरै भएपनी काम कम भएको टिप्पणी गर्दै उहाँले जनतालाई महशुस हुनेगरी काम गर्न उहाँले सुझाव दिनुभयो । “तल्लो तहका कर्मचारीलाई मुद्दा लाग्ने तर उच्च पदमा रहेकालाई छुट दिनु राम्रो होइन, तपाईंहरूलाई कानुनले अधिकार दिएको छ त्यो अधिकार प्रयोग गरेर अधिकारको दुरुपयोग गर्नेलाइ कारबाही गर्नुस”, उहाँले भन्नुभयो ।
जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु बिडम्बना भएकाले भ्रष्टाचारीको शीर ठाडो नहुने गरि कारबाही प्रक्रिया अघि बढाउन समेत उहाँले आग्रह गर्नुभयो ।
सडक निर्माण लगायत पुर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा उहाँको जोड थियो ।
प्रमुख शेरचनले जनताले अरुबाट आशा गर्न छोडेपनी अख्तियार माथी अझै भरोसा रहेकाले त्यो भरोसा रहने गरि काम गर्न सुझाव दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले भैष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोग प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष ०७८।७९ मा ९०० उजुरी प्राप्त भएकामा ८४ प्रतिशत उजुरी फस्र्यौट भएको जानकारी गराउनुभयो ।