रुपन्देही । लुम्बिनी प्रदेश स्तरीय महिला मञ्च २०८० आजदेखि जिल्लाको तिलोत्तमामा सुरु भएको छ । महिला मञ्च २०८० को उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले समृद्ध समाजका लागि सबैको समान हैसियत हुनुपर्ने बताउनुभयो ।
विभेदका कारण पत्ता लगाएर त्यसको अन्त्य गर्दै नागरिकको जीवनस्तर सहज बनाउन संविधान सभाबाट संविधान बनाइएको उल्लेख गर्दै उहाँले संविधानमा भएका महिलाका अधिकारका विषय सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो । “विभेदबाट पछि पारिएको वर्गलाई अवसर दिनुपर्छ र सबैको समान हैसियल बनाउन आवश्यक छ । यदी यसो गरिएन भने समाज पछि पर्छ”, उहाँले भन्नुभयो ।
संबिधानमै राखिएका प्रावधानमा कतिपय शब्दले महिला प्रतिनिधित्वमा समस्या सृजना गरेको जनाउँदे उहाँले त्यसमा चनाखो भएर अगाडि बढ्न आग्रह गर्नुभयो । “संबिधानमा स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एउटा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । उपप्रमुख मात्रै भन्ने होइन”, उहाँले भन्नुभयो ।
राज्यले विशेष खालका नीति बनाएर प्रजनन् अधिकार, स्वास्थ्य लगायतका महिला अधिकारका विषय सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । “महिला आन्दोलन निरन्तर अगाडि बढिरहनुपर्छ त्यसमा हाम्रो साथ र सहयोग छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले सत्तामा रहेको पितृसत्ताको सोंच बदल्न जरुरी रहेकामा जोड दिनुभयो ।
हामी विभिन्न रुप र ठाउँमा भएपनि अब शक्ति एकठाउँमा प्रयोग गर्नुपर्ने बेला आएको जनाउँदै सबै मिलेर महिला अधिकारका पक्षमा आवाज उठाउन आवश्यक रहेको बताउनुभयो ।“हामी लोकतन्त्र र गणतन्त्रका लागि लड्यौं, परिवर्तन पनि ल्यायौं तर एक थरिका लागि मात्रै । जसले आफ्ना आफन्त गुमायो, जो बलात्कारमा परे उनिहरुका लागि परिवर्तनको लडाइँले के गर्यो”? उहाँले प्रश्न गर्नुभयो ।
महिला अधिकार, न्याय र समानताका लागि सरकार नै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । “पितृसत्ताले हामीलाई सिकाउने मात्रै काम गर्यो, अब हामीले यी कुरा बुझेका छौँ, हामी सधैं अरुले बनाएको योजनामा चल्दैनौ आफै बनाउन सक्छौ”, उहाँले भन्नुभयो ।
सञ्जालका रुपन्देही जिल्ला अध्यक्ष हेमा न्यौपानेले महिलाको नेतृत्वलाई उनीहरुको अधिकारको रुपमा स्वीकार गरेको अवस्था नहुनु र महिला जनप्रतिनिधिहरुको पारिवारिक, सामाजिक र राज्यकै श्रोतमाथि पूर्ण रुपमा पहँुच स्थापित पनि हुन नकसेका कारण सरकारलाई दबाब दिन महिला मञ्चको आयोजना गरिएको बताउनुभयो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभियान्ता भूमिका श्रेष्ठले महिलालाई सधै दोस्रो दर्जाको रुपमा राख्ने समाजले तेस्रो लिङ्गी समुदायलाई पनि फरक दृष्टिकोणले हेर्ने गरेको गुनासो गर्नुभयो । “महिला अधिकारका लागि हामी पनि आन्दोलनमा जुट्यौ, अब हाम्रो मुद्धा पनि सबैको साझा सवाल बन्नुपर्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सावित्रा घिमिरेले अपांगता भएका महिला अझै पनि नेतृत्व तहमा पुग्न नसक्दा सवालहरु ओझेलमा परेको गुनासो गर्नुभयो । उहाँले अपांगतामैत्री संरचना निर्माण र निर्वाचनमा अपांगताको सहभागिता हुने वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय तथा प्रदेश सञ्जालको आयोजना तथा लुम्बिनी प्रदेशमा क्रियाशिल संघ संस्था, समूह, सञ्जाल, सञ्चारकर्मी, नागरिक समाज, स्थानीय सरकारको सहयोग तथा सहकार्यमा लुम्बिनी प्रदेशमा सामाजिक रुपान्तरणमा महिला नेतृत्व भन्ने मुख्य सवालमा केन्द्रित भई महिला मञ्चको आयोजना गरिएको हो ।
‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता’ भन्ने नारा सहित आयोजना गरिएको महिला मञ्च दुई दिनसम्म चल्ने छ ।
महिलावादी दृष्टिकोणबाट समाजलाई विश्लेषण गर्न र महिला तथा पछाडि पारिएका समुदायको विद्यमान सवाल पहिचान र क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने उद्देश्यले महिला मञ्चको आयोजना गरिएको हो ।
लुम्बिनी प्रदेशमा ‘संक्रमण कालिन न्याय : चुनौतीहरु’, ‘शरीर मेरो नियन्त्रण कसैको’ रुपान्तरित नेतृत्वका सवालहरु मूख्य विषयका रुपमा कार्यक्रममा छलफल गरिने ओरेक नेपालका कार्यक्रम संयोजक प्रभा पौड्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नवनिर्वाचित महिला उपप्रमुख, उपाध्यक्षहरु, माहिला मानवअधिकार रक्षकहरु, महिला अधिवक्ताहरु, महिला अधिकारका क्षेत्रमा कृयाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय सरकारका पदाधिकारीहरु, संचारकर्मी र मानवअधिकारकर्मीहरु गरी करिब तीन सय जनाको सहभागिता रहेको छ ।