काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा गरिएको छ ।
नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो । उहाँको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्याइँदै छ ।
नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि हुँदैछ । शवयात्राअघि बालुवाटारस्थित नेम्वाङको निवासमा एमाले अध्यक्ष केपी ओलीसहित विभिन्न दलका नेता उपस्थित थिए ।
निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टि गरिनेछ । एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो । शोक मनाउन आज सार्वजनिक बिदा पनि दिइएको छ ।