बुटवल । प्रतिकूल मौषमको कारण देखाउँदै तीन महिनादेखि रोकिएको गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः उडान सुरू भएको छ । खराब मौसमका कारण गत जेठको अन्तिम सातादेखि उडान अवरुद्ध हुँदै आएको थियो ।
नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन इन्चार्ज सुमन थापाका अनुसार मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ । काठमाडौंबाट ११ जना यात्रु गुल्मी आएकोमा गुल्मीबाट भने तीनजना मात्र यात्रु लिएर जहाज काठमाडौ फर्किएको थापाले बताउनुभयो ।
गत वैशाखको अन्तिम सातादेखि व्यावसायिक उडान सुरू गरेपनि मौसम खराबीका कारण नियमित उडान हुन सकेको थिएन । अबदेखि मौषम हेरेर हप्ताको एक दिन शुक्रबार उडान हुने स्टेशन इन्चार्ज थापाले जानकारी दिनुभयो । मौषम खराबीले पटक–पटक उडान अवरुद्ध भएपछि आजको उडानमा यात्रु कम भएको उहाँले बताउनुभयो । चाडपर्व सुरु भइसकेकाले रेसुङ्गा विमानस्थलमा यात्रु अभाव नहुने थापाले बताउनुभयो ।
जहाजले काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा उडान गर्ने गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ । पछिल्लो समय सरकारले भाडा दर बढाएसँगै भाडादर वृद्धि भएको छ । गुल्मीदेखि काठमाडौंका लागि ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडादर कायम गरिएको स्टेशन इन्चार्ज थापाले बताउनुभयो ।
चार दशकदेखिको जहाज चढ्ने सपना पूरा भएपछि जिल्लाबासी उत्साहित भएका छन् । गुल्मीको सिमिचौरमा १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलमा ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग रहेको छ । जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन् ।
रेसुङ्गा विमानस्थलमा विमान उडानका लागि बिहानीको समय उपयुक्त मानिएको छ । नागरिक उड्डयन प्राधिकरणले यहाँ हप्ताको दुई दिन उडान गर्न अनुमति दिएको छ । रेसुङ्गा विमानस्थल समुन्द्री सतहदेखि १ हजार ५२६ मिटरको उचाइमा पर्छ । पहाडी जिल्लाका विमानस्थलले नियमति यात्रु पाउन नसक्दा चल्दै बन्द हुँदै जाने क्रममा देखिन्छ ।