भैरहवा । उद्घाटन भएको भएको डेढ वर्ष बितिसक्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । विमानस्थल निर्माणपछि उत्साहित बनेका रुपन्देहीका उद्योगी–व्यवसायी अहिले निराश बनेका छन् । विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै शुक्रवार भैरहवामा विरोध प्रदर्शन गरिएको छ । विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण जनदबाब ¥याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताउनुभयो । सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न संघ–संस्थाहरुको सहभागिता रहेको थियो । देवकोटाचोकबाट सुरु भएको ¥याली बैंकरोड, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर समापन भएको थियो ।
¥यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँन, लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्बासे केसी, सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगरवासीहरुको उपस्थिति रहेको थियो । सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवालीले विमानस्थलको टिकट नकाटेर आन्दोलनमा साथ दिन आग्रह गर्नुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि विशिष्ट व्यक्तित्वहरुलाई ज्ञापनपत्र बुझाइसकेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालन हुने भनेर विमानस्थल सञ्चालन भए यहाँ पचासौँ लाख पर्यटक यहाँ आउने बताउनुभयो । उहाँले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा रहेको बताउनुभयो ।
प्रदर्शनपछि बुद्धचोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले विमानस्थल सञ्चालन नआएसम्म प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो राष्ट्रमा नेतृत्व गर्ने व्यक्तिहरुले आन्दोलन नगरेसम्म र शक्ति नदेखाएसम्म अधिकार नदिएको बताउनुभयो ।
मन्त्री पाण्डेयले शान्तिपूर्ण आन्दोलनले नमाने प्रचण्डजी जंगल गएजस्तै सन्तोष पाण्डे पनि सोहीअनुसार अगाडि बढ्न सक्ने चेतावनीसमेत दिनुभयो । उहाँले अब १२ जिल्लाका व्यक्तिहरु आन्दोलनमा सहभागी हुने बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँनले यो आन्दोलनलाई सानोतिनो नठान्न आग्रह गर्नुभयो उहाँले सरकारको आँखा नखुलेसम्म आन्दोलन जारी रहने बताउनुभयो । लुम्बिनी प्रदेश सदस्य देवीप्रसाद चौधरीले विमानस्थल सञ्चालनले सबैलाई लाभ हुने बताउनुभयो । प्रदेशसभा सदस्य हेमा बेल्बासे (केसी) ले सरकार सुतेजस्तो गरेको बताउनुभयो । उहाँले आन्दोलन सफल पार्न सडकदेखि सदनसम्म आवाज उठाउने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले कुनै पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा अरबौं लगानी गरेर होटल व्यवसायी धरासायी बन्दै गएको बताउनुभयो ।
नेपाल टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्रबहादुर थापाले यो आन्दोलनले सार्थक रुपमा लिने र सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । नेपाल इञ्जिनियरिङ एशोसिशयन लुम्बिनी प्रदेशका सभापति शैलेन्द्रप्रसाद श्रेष्ठले डेढ करोड नेपालीले प्रयोग गर्नुपर्ने यो विमानस्थल त्यसै थन्काइएको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका महासचिव जेपी कँडेलले कुनै हालतमा पनि विमानस्थल सञ्चालन गर्नुपर्ने बताउनुभयो । होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले विमानस्थल सञ्चालनका लागि हरेक आन्दोलनमा आफूहरुको ऐक्बद्धता रहेको र यसमा सम्पूर्ण भैरहवाबासीले साथ दिनुपर्ने बताउनुभयो । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेले सिद्धार्थ सञ्जालको आन्दोलनमा साथ रहने बताउनुभयो । सिद्धार्थ सञ्जाल, रुपन्देहीका सल्लाहकार डा. शान्तकुमार शर्माले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स एजेन्ट नाटा लुम्बिनी प्रदेशले राजधानीमा पर्यटनमन्त्री सुदन किराँती, नागरिक उड्डयन प्रधिकरण, एसियाली विकास बैंकका प्रतिनिधि, कतार एयरवेज, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबिया, हिमालय एयरलाइनसलगायत विमान कम्पनीहरूलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनका लागि दबाब दिन ज्ञापनपत्र बुझाइसकेको नाटाका निवर्तमान अध्यक्ष सागर अधिकारीले बताउनुभयो ।