बुटवल । जोखिमपूर्ण बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माण थालिएको सुरूङमार्गले गति लिन सकेको छैन । राष्ट्रिय महत्वको आयोजना अहिलेसम्म जम्मा ९ प्रतिशत मात्र भौतिक प्रगति छ । सबै क्षेत्रबाट चासो दिएको आयोजनाको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निरीक्षण गर्दै कामको गति तीव्र बनाउन आयोजनालाई आग्रह गर्नुभएको छ । सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिनुभएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा ध्यानआर्कषण गराउँदै तिव्रता दिन निर्देशन दिनुभएको हो ।
सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्रीले निर्माण व्यवसायीलाई सचेत बनाउनुभयो । ‘अहिले ८-९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो,’ मन्त्री ज्वालाले भन्नुभयो । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर, वाहना बनाएर काममा ढिलाई गर्न छुट नदिने बताउनुभयो । ‘समस्या कहाँनिर छ, त्यो हामी सुन्छौं तर वाहना बनाएर ढिलाई गनए पाइँदैन,’ उहाले भन्नुभयो ।
मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताउनुभयो । उहाँले निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रती सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो । मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्वारसहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो । निरीक्षणमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले कामले गति लिन नसकेको स्विकार गर्नुभयो । उहाँले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाइन स्विकृत गरेर काम भइरहेको बताउनुभयो ।
यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि शनिबार नै निरीक्षण गर्नुभएको छ । सडक निर्माण समयमा पूरा नहँुदा नागरिकले सास्ती पाएको विषयमा जनगुनासो व्यापाक भएकाले आफू निरीक्षणमा आएको उहाँले बताउनुभयो । ‘बुटवल नारायणगढ सडकको कामको गती बढेको छैन, सन्तुष्ट छैनौं,’ मन्त्रीले भन्नुभयो ‘अहिले स्थलगत निरीक्षण गरेर समस्या के हो, त्यसको समाधान गर्ने गरी छलफलमा समेत जुट्छौँ ।’ मन्त्री ज्वालाले यस सडकका बिषयमा नागरिकहरुको गुनासो निकै धेरै भएकाले अब कुनै पनि बाहनामा काममा ढिलाई नगर्न निर्देशन दिएको बताउनुभयो ।
मन्त्रीले आफू बुटवल–नारायणगढ सडकको काममा भइरहेको ढिलाइप्रति निकै चासो रहेको बताउँदै यसपटक समस्याको चुरो पत्ता लगाएर समाधान गर्ने गरी आएको बताउनुभयो । उक्त अवसरमा बुटवल नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शंशाक मिश्रले पर्याप्त मात्रामा निर्माण सामग्री नपाउँदा काममा ढिलाई भएको बताउनुभयो । उहाँका अनुसार नारायणगढ–बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगति छ । मन्त्री ज्वालासहितको टोलीले शनिबारै हुलाकी सडकखण्डको समेत निरीक्षण गरेका छन् ।
यस्तै कपिलबस्तुमा निर्माण भएको सुरइखोलाको पुलको समेत उद्घाटन गरिएको छ । निरीक्षणमा मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशिल बाबु ढकाल, मन्त्रालयका निमित्त सचिव रघुराम विष्ट, एसियाली विकास बैंक(एडिबि) का निर्देशनालयका प्रमुख चुराराज ढकाल, पुल महाशाखाका प्रमुख ललितजंग खनाललगायतको सहभागिता रहेको थियो ।