गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा १० दिनदेखि सम्पर्कबिहिन बालक जंगलमा मृत फेला परेका छन् ।
हर्राचौर टुटीनाकी रम्बा थापा क्षेत्रीको ६ बर्षीय छोरा इश्वर क्षेत्री २२ मंसिरको दिउँसो २ बजेबाट परिवारको सम्पर्कमा थिएनन् । बालकलाई सोमबार दिउँसो स्थानीयले घरदेखि एक किलोमिटर टाढा जंगलमा मृत अवस्थामा फेला पारेको चन्द्रकोट गाउँपालिका ३ का वडाध्यक्ष डिल्लीराज सुवेदीले जानकारी दिनुभयो । बालक दृष्टीबिहिन थिए ।
बालकको कम्मर तलको मासु निस्किएको अवस्थामा देखिएकाले मृत्युको कारण भर्खरै केहि भन्न नसकिने सुवेदीले बताउनुभयो । लामो समयदेखि चन्द्रकोट इलाका प्रहरी कार्यालय र स्थानीयको टोलीले बालकको खोजतलास गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिल्लीनारायण पाण्डेले आफ्नो नेतृत्वमा प्रहरीको टोली घटनाको थप अनुसन्धानको लागि घटनास्थल हिडेको जानकारी दिनुभयो ।