बुटवल । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे सडक खण्ड बिस्तारका लागि बोलपत्र आह्वान भएको छ । सडक विभाग अन्तर्गतको वैदेशिक महाशाखाले यो आयोजनाको पहिलो खण्डको डेडिकेटेड चारलेनका लागि टेण्डर आह्वान गरेको हो । यो सडक खास ठाउँमा आठ लेन, ६ लेन, अण्डरपास र ओभरपास समेतमा स्तरोन्नती हुनेछ ।
पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरसम्को डिजाइन सम्पन्न भएर ठेक्का आह्वान गरिएको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई त्रिलोकनाथ घिमिरेले बताउनुभयो ।
आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठका अनुसार यो सडक निर्माणका लागि एडीबीसँगको समन्वयमा डीपीआरको काम सम्पन्न भएको थियो । आयोजनाले पहिलो खण्डलाई पनि दुई खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाएको हो । यो सडकको पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरको दुरीमा छ । यसलाई दुई खण्डमा गरी ठेक्का आह्वान गरिएको उहाँले बताउनुभयो ।
यो पहिलो खण्डको सडक विस्तारमा लगभग ३० वटा सानाठूला पुलहरु पनि निर्माण हुने उहाँले बताउनुभयो । यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु पनि निर्माण हुनेछन् । यस्तै ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्ने श्रेष्ठले बताउनुभयो ।
सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राख्दै यो वर्षको लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको छ । यो खण्डको आयोजनाको लागि भने ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको आयोजनाले जनाएको छ ।
यसबाट सडकमा यात्रा गर्ने समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने छ ।
बंगलादेश–भुटान–भारत–नेपाल सडकअन्तर्गत महेन्द्र राजमार्गमा पनि पर्ने यो सडक खण्ड यसभन्दा अघि पनि विश्व बैंककै ऋण सहुलियतमा निर्माण भएको थियो । हाल यही सडकलाई विश्व बैंकको सहयोगमा विस्तार गर्न लागिएको हो। आयोजनामा पार्क लगायत सहरी विकासका विभिन्न पूर्वाधार पनि सडकसँग निर्माण गर्ने योजना तथा डिजाइन छ ।
पुर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले यो सडक बिस्तारको परिकल्पना गर्नुभएको थियो । टेण्डर आह्वान भएसँगै सामाजिक सञ्जालमा लामो स्टाटश लेख्दै उनले सडक बिस्तारका लागि टेण्डर आह्वान हुनु खुशीको विषय भएको बताउनुभएको छ ।
‘हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहिआएको छ । विश्वबैंकको ऋण लगानीमा सम्पन्न हुने यस् आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस्’ उहाँले लेख्नुभएको छ ।
पुर्व अर्थमन्त्री पौडेलले स्वस्थ एवम् पारदर्शी प्रकृयाद्वारा सक्षम निर्माण कम्पनी छनोट गर्न र छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गर्न आग्रह समेत गर्नुभएको छ । छनोट भएको कन्सल्ट्यान्ट कम्पनी लिया एशोसिएट्स साउथ एसिया प्रालिले पनि निर्माण कार्यको प्रभावकारी परीक्षण र सहजीकरण गर्न समेत पौडेलले सुझाव दिनुभएको छ ।
त्यसैगरी गोरूसिङ्गेदेखि चन्द्रौटा सम्मको १९ किलोमिटर सडकको डिटेल डिजाइन शीघ्र सम्पन्न गरी निर्माण कार्य आरम्भ गर्न माग गर्दै पौडेलले बुटवलको तिनाउ नदीमा सिक्नेचर पुल निर्माण कार्य पनि विलम्ब नगरी आरम्भ गर्न आग्रह गर्नुभएको छ ।
जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गल्ती–कमजोरी हुँदा खबर्दारी गरिने पनि उहाँले बताउनुभएको छ ।
बहुवर्षीय योजनाअनुसार सडक विस्तारको काम अगाडि बढेको हो । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना (एक्सेस) शुरू भएको छ ।
राजमार्गको बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई ‘फोर लेन’ स्तरोन्नति गर्नका लागि बोलपत्र आह्वान भएको हो । आयोजनाको लागि २७ करोड ५० लाख डलर ९झण्डै ३५ अर्ब रुपैयाँ० विश्व बैंकले उपलब्ध गराउने भएको छ ।
निर्माण भएको ६० वर्ष पुगेको सडक अहिले साँघुरो र जीर्ण छ । आयोजनाअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको सडक ४ लेन र बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना छ । २ लेनमा रहेको पूर्वपश्चिम राजमार्गलाई अहिले विभिन्न खण्डमा गरी धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुनेछ ।
नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो । पहिलो चरणमा बुटवलदेखि गोरूसिंगे ५० किलोमिटर सडक स्तरोन्नति हुनेछ । गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर डिजाइन भएको छैन ।
विक्रम संवत् २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो हुन लागेको छ । त्यो बेला पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राजा महेन्द्रले भारत, रूस र बेलायतको सहयोग मागेका थिए । सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । महेन्द्र शाहले नवलपरासीको गैंडाकोटमा राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामकरण गरिएको थियो ।
देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेन्द्र’ नाम हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग कायम गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजन इन्जिनियर होमबहादुर एसीले बढ्दो सवारीसाधनको चापले अब राजमार्गहरू कम्तीमा फोर लेन बनाउन अनिवार्य भइसकेको बताउनुभयो ।