बुटवल । नेपाल एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारकै कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसकेको बताउनुभएको छ । बिहीबारबाट बुटवलमा सुरू भएको लुम्बिनी एक्स्पो–२०८० (अन्तर्राष्ट्रिय व्यापार मेला) को उद्घाटन गर्दै नेता पौडेलले बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरू कुनै काम गर्न नसक्ने दावी गर्नुभयो । ‘यो एयरपोर्ट सरकारकै कारण चल्न नसकेको हो,’ ‘सरकार, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सचिवले पहल गर्नुपर्ने काम हो । उनीहरुले केही गर्न सकेनन् । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले केही गरेर खाँदैन ।’
उपाध्यक्ष पौडेलले थप्नुभयो, ‘हामीले धेरै मेहेनत गरेको बनाइएको विमानस्थल हो । व्यवसायीहरु चिन्ता नलिनुहोस् हामीले चलाएर छाड्छौं । आकर्षक विमानस्थलको रुपमा अघि बढाएरै छाड्छौं ।’ यो सरकार सम्पूर्ण रूपमा असफल भएको भन्दै पौडेलले असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताए ।
बुटवल–नारायणगढ सडक निर्माणमा पनि लापरवाही भएको पौडेलले बताउनुभयो । ‘निर्माण कम्पनीले ढिलासुस्ती र लापरवाही गर्दा सरकारले तमासा हेरेस बस्ने होइन,’ पौडेलले भन्नुभयो, ‘गुणस्तरीय रूपमा सञ्चालन गर्न सघाउन सकेको छैन । सडक निर्माणको ढिलासुस्ती ‘टु मच’ भइसक्यो ।’ बुटवल बजार क्षेत्रको सडक सरकारकै कारण बन्न नसकेको पौडेलको भनाइ छ । बुटवललाई आकर्षित र विकासशील सरकार बनाउन आफू अविछिन्न रुपमा लाग्ने बताउनुभयो ।
तिनाउ दावन करिडोरका लागि छुटाइएको बजेट भारी रूपमा कटौती गरेर निर्माणमा चुनौती खडा भएको बताउनुभयो । देशको अर्थतन्त्र बिग्रिनुको पछाडि कोरोनालाई दोष दिन नपाइने उपाध्यक्ष पौडेलले बताउनुभयो । अहिले देशको अर्थतन्त्र हेर्दा आङ सिरिङ्ग हुने पौडेलले बताउनुभयो । ‘सरकारको ढुकुटी २ खर्बले ऋणात्मक छ । सरकारले कर्मचारीलाई तलब र साधारण खर्च तिर्न नसकेर ऋण उठाएको छ । राजश्व संकलन हुन सकेको छैन । राजश्व लक्ष्यअनुसार उठन सकेको छैन । राजश्वले साधारण खर्च धान्न सकेको छैन । गत वर्षभन्दा ६० प्रतिशत कम सहयोग प्राप्त हुन्छ भन्ने बताएका छन् । पूँजीगत खर्च पनि लथालिङ छ ।’ नेता पौडेलले भन्नुभयो ।
ठूला आयोजना बजेटको कारणले कार्यान्वन हुन नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । आजको समस्या गम्भीर अवस्थामा पुगेको छ, जनताका चाहनामा मलजल गर्न आफूहरु आउने पौडेलले बताउनुभयो । अहिलेको व्यवस्थाविरुद्ध स्यालहुइया गर्दैमा अहिलेको व्यवस्था र संविधानलाई कसैले केही गर्न नसक्ने पौडेलले दावी गर्नुभयो ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताउनुभयो । ‘विकास निर्माण भन्दा पनि कसरी सत्तामा टिकिरहने भन्ने चिन्ता सत्तामा रहेका दलहरुमा छ’, उहाँले भन्नुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधी भण्डारी, संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का निर्मल जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिएको व्यापार मेला पुस १८ गतेसम्म सञ्चालन हुनेछ । व्यापारलाई आधुनिकीकरण र विशिष्टिकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला आयोजक रूपन्देही व्यापार संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले बताउनुभयो । उहाँले शिथिल अर्थतन्त्रलाई मेलाले चलाएमान बनाउने विश्वास व्यक्त गर्नुभयो । । एक्स्पोमा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार अपेक्षा गरिएको छ ।
एक्स्पोमा विभिन्न प्रकृतिका झण्डै ६ सय स्टल सहभागी भएका छन् । कृषिको व्यवसायीकरण तथा आधुनिकीरण, स्थानीय साना तथा घरेलु व्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा सञ्चार, शैक्षिक, सेवामूलक, वैकल्पिक ऊर्जा र स्वदेशी उत्पादनका व्यवसायलाई प्राथमिकतामा राखिएको रुपन्देही व्यापार संघले जनाएको छ । एक्स्पोको अवलोकनका लागि टिकरदर ६० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि सहुलियतमा ५० रुपैयाँ तोकिएको छ । मेला उदघाटन अघि बिभिन्न झाँकीहरुले बुटवल नगर परिक्रमा गर्दै मेला स्थल प्रवेश गरेको थियो ।