तिलोत्तमा, फागुन ११ । ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकारद्धय घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा सो पुरस्कार स्थापना गरेको हो ।
बैंकको १६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार तिलोत्तमामा आयोजित समारोहमा पत्रकारद्धय गौतम र कार्कीलाई जनही नगद २५ हजार १ रुपैयाँसहित पुरस्कृत गरिएको छ । पत्रकार गौतम कान्तिपुर दैनिक र कार्की गोरखापत्र दैनिकमा आवद्ध छन् ।
बैंकका अध्यक्ष थानेश्वर पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बैंकका सञ्चालक मोहन चापागाई, सुरज उप्रेतीलगायतले पत्रकारद्वयलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरे । पुरस्कृत हुने पत्रकार चयनको लागि पत्रकार माधव नेपालको संयोजकत्वमा ३ सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो ।
बैंकले वि.स. २०७८ सालदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु. ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको थियो । यो पुरस्कार २०७८ मा यमलाल भुसाल र २०७९ मा माधव नेपालले पाएका थिए । बैंकले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शाखा (ग्रामीण) बाट खनदह शाखा र (शहरी) क्षेत्रबाट काठमाडौको नयाँ बानेश्वर शाखालाई सम्मान गरेको छ ।