बुटवल । बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो । पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताउनुभयो ।
उहाँले पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताउनुभयो । ‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्, उहाँले भन्नुभयो, अहिले हामीले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्छौं, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ ।’
उहाँले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पु¥याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गर्नुभयो । उहाँले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको बताउनुभयो ।
‘यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौं’, उहाँले भन्नुभयो यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ ।’
उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन थालिएको बताउनुभयो । उहाँले यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम शुरु भएको र त्यसको व्यवस्थापनको लागि सबै तयारी भएको बताउनुभयो । उहाँले गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको बताउनुभयो । छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधिहरु तथा समुदायका अगुवाहरु सहभागी थिए ।