दाङ । दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।
गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा हुनुहुन्छ । थारू दुर्घटनामा परेको एक बसका चालक हुनुहुन्छ । उहाँहरुलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । सामान्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । बुटवलबाट सुर्खेत जाँदै गरेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस बुधबार आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते हुनेहरुमा दाङको घोराही उपमहानगरपालिका–१५ का विनोद पौडेल, राप्ती गाउँपालिका–१ का हुम बहादुर राना, गढवा गाउँपालिका–२ का लक्ष्मण थारु, राप्ती गाउँपालिका–२ लालमटियाकी कमला थापा, सोही ठाउँका घनश्याम थापा, लमही नगरपालिका–६ का गोविन्द पाण्डे, राप्ती गाउँपालिका–२ की शिवादेवी राउत क्षेत्री, रुपन्देहीको देवदह नगरपालिका–४ का रुद्रप्रसाद पौडेल, सैनामैना–४ का तुलावीर विष्ट, शुद्दोधन गाउँपालिका–३ की सृष्टि खनाल, सोही ठाउँकी अंशु नेपाल, बुटवल उपमहानगरपालिका–१० की पार्वती अर्याल, रोल्पाको थवाङ्ग गाउँपालेका–३ का दीपेन्द्र बुढामगर, दीपेन्द्रका १० महिनाका छोरा सुमन बुढा मगर, कपिलवस्तुको इमिलियाका टिका विक, सोही ठाउका निर्मल विक, विजयनगर गाउँपालिका–१ का ६२ वर्षीय थम्मन विष्ट रहेका छन् ।
यस्तै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–२ की विश्व कुमारी थापा, बर्दियाको भुरी गाउँकी गृष्मा थारु, प्युठानको झिमरुक गाउँपालिका–४ की तुल्सा बुढाथोकी, पाल्पाको तानसेन नगरपालिका–१० की सविता न्यौपाने र सोही ठाउँ निवासी ९ वर्षिया स्वस्तिका न्यौपाने रहेका छन् ।