अर्घाखाँची । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । घुम्ती–पाल्पा सडक खण्ड अन्तरगत पाणिनी गाउँपालिका–९ कोलडाँडामा अर्घाखाँचीबाट पोखरातर्फ जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार बुधबार दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताउनुभयो । उहाँको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीय सम्झना, उहाँकी छोरा इभान्स घाइते भएका छन् । त्यस्तै पोखरा उपमहानगरपालिका–१२ की ३० वर्षीय सविता अधिकारी, वर्ष १५ का प्रजोल कँडेल र ४२ वर्षीय गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेको प्रहरी निरीक्षक रावलले बताउनुभयो ।
सबै घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिको कार अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट दुई सय मिटर तल खसेको छ । घटनाको थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।