काठमाडौं । गुणस्तरहीन चाउचाउ भेटिएपछि काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको हो ।
गुणस्तर परीक्षणमा वाइवाइ चाउचाउमा प्रयोग भएको एसिड भ्यालु धेरै रहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको पाइएको हो । काठमाडौं महानगरपालिका वडा ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेर परीक्षण गरिएको थियो ।
गएको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ती चाउचाउ प्रयोगशालामा परीक्षणपछि न्यून गुणस्तरको प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।
रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।