बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२औँ अधिवेशन तथा साधारणसभाले ७ बुँदे घोषणापत्र पारित गर्दै मिडियामा आर्थिक संकट समाधान खोज्न सरकारसँग आग्रह गरेको छ।
पछिल्लो समय विश्वव्यापी रूपमा आर्थिक संटकका कारण सञ्चार क्षेत्र प्रभावित भएकाले आर्थिक संकट अन्त्य गर्न सरकारलाई नीतिगत व्यवस्था गर्न साधरणसभाले माग गरेको हो।
शनिबार सकिएको साधारणसभाले स्वतन्त्र, मर्यादित, निष्पक्ष र व्यवसायिक पत्रकारिताको विकासका लागि पत्रकार, सञ्चारसंस्था र समग्र सञ्चार क्षेत्रको विकास र सवलीकरण लागि भूमिका खेल्नुपर्नेमा जोड दिएको छ।
साधारणसभाले विभिन्न बहानामा सञ्चारमाध्यमले पत्रकारलाई जागिरबाट हटाउने, पारिश्रमिक रोक्ने, घटाउने जस्ता अप्रिय गतिविधि गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल रोक्न, निकालिएका पत्रकारलाई पुनर्बहाली गर्न तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको मापदण्डअनुसार समयै पारिश्रमिक भुक्तानी गर्न त्यस्ता सञ्चारमाध्यमलाई जोडदार आग्रह गरेको छ।
यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकारको तत्कालीन, दीर्घकालिन समस्या र स्वास्थ्य उपचारमा सहयोग गर्ने गरी पत्रकार कल्याणकारी कोषलाई थप वृद्धिका लागि पहल गर्न जोड दिएको छ।
सञ्चार क्षेत्रमा विकाससँगै कतिपय बेथिति, आचारसंहिता उल्लंघन जस्ता गुनासा सार्वजनिक हुने गरेकोप्रति चासो व्यक्त गर्दै पत्रकारिता आचारसंहिताको स्वपालाना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सदस्यलाई आग्रह गरेको छ।
महासंघ रुपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवालीको संयोजकत्वमा बनेको समितिले ७ बुँदे घोषणापत्र तयार पारेको हो। बन्दसत्रमा विक्रम खड्का, सरु राना, राम विकाश चौधरी र शंकर पाण्डेय रहनुभएको थियो ।
यसअघि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले शुद्धीकरण अभियान इभेन्ट नभई मुभमेन्ट भएको बताउँदै कसैलाई अन्याय हुन नदिने बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्रको गरिमा बचाउनका लागि समेत शुद्धीकरण जरुरी भएको बताउनुभयो।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघले सदस्यतासँगै सञ्चारमाध्यका विषयवस्तुमा पनि शुद्धीकरणमा गर्नुपर्ने बताउनुभयो। यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेवी अर्यालले पत्रकारले सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि भवानीप्रसाद पाण्डे, लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, पूर्वअध्यक्ष डीआर घिमिरे, सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, उपाध्यक्षद्वय विश्वास ढकाल, अमृता अनमोल, सचिव विनोद परियार लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।
उत्कृष्ट र सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार वितरण
अधिवेशन तथा साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीले तीनवटा पुरस्कार वितरण गरेको छ। महासंघले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार टिआर शर्मा र २०७९ बाट पत्रकार कपिल ज्ञवालीलाई पुरस्कृत गरिएको छ।
अनलाइनखबर, बुटवल टुडेमा कार्यरत पत्रकार शर्मा र बुद्ध टेलिभिजनमा कार्यरत पत्रकार ज्ञवालीलाई नगद ५०र५० हजार राशी, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो। यसैबीच सिद्धार्थनगर नगरपालिकाबाट स्थापित सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट पत्रकार दिपक घिमिरे पुरस्कृत हुनुभएको छ ।
घिमिरेलाई नगद ५ हजारसहित सम्मान गरिएको हो। यसैगरी सोही अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका आठजना पूर्वअध्यक्ष, ४ जना प्रेस स्वतन्त्रता सेनानी, १० जना विभिन्न कारणले निधन भएका पत्रकारलाई मरणोपरान्त सम्मान गरिएको थियो।