कावासोती –नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ ।
जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल गौतमले बताए।
बिहान १० बजेदेखि चार बजेसम्म अस्पतालबाहिरकै प्रतीक्षालयबाट सेवा दिइने उनले बताए। जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोभिड–१९ को जोखिम पनि कम होस् भनेर यसरी सेवा दिन थालिएको उनले बताए।
अस्पतालका कुनै पनि सेवा नरोकिएको डा गौतमको भनाइ थियो। बिरामीको चापको अवस्था हेरेर केही दिन बाहिरबाटै सेवा दिइने उनले बताए।