बुटवल-कालिका माध्यमिक विद्यालय बुटवलका पूर्व प्रधानाध्यापक छवि नेपालको मृत्यु भएको छ। सुगर र उच्च रक्तचापको समस्या रहेका बुटवल १ का बासिन्दा नेपालको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो। कालिका माध्यमिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नका लागि उनको महत्वपूर्ण भूमिका रहेको थियो। उनी पछिल्लो समय बुटवल उपमहानगरपालिकाको शिक्षा समितिका लागि काम गरिरहेका थिए।
उनकै भाई मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब विष्णुप्रसाद नेपाल बिहिबारदेखि बेपत्ता छन्। परिवारले खोजी गरी दिन प्रहरीमा उजुरी दिएको र उनको खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीका सूचना अधिकारी डीएसपी खड्क बहादुर खत्रीले जानकारी दिए।
नेपालको मोटरसाइकल भने प्रहरीले बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको थियो। नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले शनिबार नहरको पानी बन्द गरेर दिनभर खोजी गरेपनि उनी भेटिएनन्।
नेपाल गत बिहीबार राती बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केकोमा घर नफर्केपछि परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए। शुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन्।