गुल्मी-गुल्मीको तम्घासमा स्थापना भएको कोभिड– १९ परिक्षण प्रयोगशालाबाट कोरोना परिक्षण सुरु गरिएको छ । असोज ७ गतेबाट नियमित परिक्षण गरिएको हो ।
एक हप्ता अघि प्रयोगशालाको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गरेका थिए । प्राविधिक प्रक्रिया र जनशक्तिको कारण एक हप्तापछिबाट परिक्षण थालिएको प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले जानकारी दिए ।
प्रयोगशालामा गुल्मी अस्पतालका ६ र रुरु क्षेत्र गाउँपालिकाका ३० गरेर ३६ जनाको पहिलो परिक्षण गरिएको थियो । जसमध्ये गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यासहित १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमित डाक्टर पच्याले आफु संक्रमित भएको सामाजिक संजाल मार्फत आफैले नै सार्वजनिक गरेका छन् । अहिले उनी होम आइसोलेसनमा छन् । उनले संक्रमणको कारण आफ्नो स्वास्थ्यमा कुनै फरक समस्या नदेखिएकोले सवैलाई सचेत रहन आग्रह गरे ।
प्रयोगशालामा २ सय २० स्वाब संकलन
कोभिड– १९ परिक्षण प्रयोगशाला तम्घास गुल्मीको रिर्पोट अनुसार २ सय २० जनाको स्वाब संकलन गरिएको छ ।
अहिलेसम्म रुरु क्षेत्र गाउँपालिकाका ३०, रेसुंगाका ७ र मुसिकोट नगरपालिकाका ६१ जनाको कोरोना परिक्षण गरिएको प्रयोगशालाका ल्याव टेक्नोलोजिष्ट केपी भण्डारीले जानकारी दिए ।
अहिलेसम्म रेसुंगा नगरपालिकाका १ सय २१ स्वाब संकलन गरिएकोमा सात जनाको नतिजा आएको छ । रुरु क्षेत्र गाउँपालिकाको ३० जनाको स्वाब संकलन भएकोमा ३० जनाकै नतिजा आएको भण्डारीले बताए ।
मुसिकोट नगरपालिकाको ६७ जनाको स्वाब संकलन गरिएकोमा ६१ जनाको नतिजा आएको छ । उनले अहिले रेसुंगाका १ सय १४, मुसिकोटका ६ र इस्मा गाउँपालिकाका २ जनाको स्वाब परिक्षण भइरहेको बताए ।