वीरगन्ज-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा जिल्ला समितिका सदस्य मुकेश चौरसियाको हत्याको किटानी जाहेरी दर्ता भएको छ ।
नेकपा पर्साले एक हप्तादेखि गर्दै आएको आन्दोलनपश्चात् बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तव्य ज्यानको किटानी जाहेरी दर्ता भएको हो ।
गएको बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीच भएको झडपमा परी मृत्यु भएका बिन्दबासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको एक हप्तापछि सरकारी वकिल कार्यालय पर्सामार्फत् किटानी जाहेरीसहितको निवेदन जिल्ला प्रहरी कार्यालयमा दर्ताको भएको हो ।
बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जिल्ला प्रहरी कार्यालय पर्सामा पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाको विरोधमा जाहेरीसहितको निवेदन दर्ताको भएको हो ।
मृतकका भाइ महेश चौरसियाले दिएको जाहेरीसहितको निवेदन दर्ता भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
उनले मृतक चौरसियाको घटनामा संग्लनविरुद्ध वकिल कार्यालयमार्फत् आएको जाहेरीसहितको निवेदनमा अनुसन्धान गरेर कारबाही अगाडि बढाइने बताइन् ।
शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा हनिफ मियाँ, देवा सहनी र सोकदिन गर्दी रहेका प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन् । उनले घटनाको अनुसन्धान गरी कारबाहीको तयारी भइरहेको बताइन् ।
गएको बिहीबार पर्साको बिन्दबासनी गाउँपालिका–५, प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।