दाङ–एक व्यक्तिको हत्या गरेको अभियोगमा तीन जना व्यक्ति पक्राउ परेका छन् ।
राप्ती गाउँपालिका–६ निवासी ४० बर्षिय मोतिराम चौधरीको हत्या गरेको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।
राप्ती गाउँपालिका–६ निवासी ३३ वर्षीय मोतिलाल चौधरी, उनका ठूलोबुवा र काकाका छोराहरू ४८ वर्षीय मनिराम र ३८ बर्षीय धनबहादुर चौधरीले मिलेर मोतिरामको हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ । घटना बुधवार मध्यरात तिरको हो । हत्या गरेर घरबाट झण्डै ६ सय मिटर टाढा कुलोमा शव फालिएको अवस्थामा फेला पारिएको छ ।
मोतिलालसहित तीन काका–भतिजा मिलेर सुतेका मोतिरामलाई लाठी र चिर्पटले प्रहार गरी हत्या गरेका थिए । शवलाई घिसार्दै लगेर सिँचाइको लागी खनेको कुलोमा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ ।
एसपी चन्दका अनुसार सानो घरमा चौधरी एक्लै बस्दै आएका थिए । अविवाहित उनी घरमा एक्लै बस्दै आएका थिए । पुरानो रिसिइबीका कारण मोतिरामको हत्या गरिएको खुलेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।