बुटवल । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरिरहेका छन्, किनभने आज शिवरात्रि हो । शिवजी उत्पत्ति भएका रातकाे नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
आज रुपन्देही, पाल्पा, लगायत देशैभरका शक्तिपिठहरुमा भक्तजनहरुको घुँइचो छ । शिद्धबाबामा विहानैदेखि भक्तजनहरुको घुँइचो छ । भैरहवाको बसडिलवा स्थित शिव मन्दिरमा पनि विहानै देखि भक्तजनहरुको घुइचो लागेको छ । भैरहवाको पुरानो मन्दिर मध्ये यो शिव मन्दिर २०३६ सालमा जिर्णोद्वार भएको रुपन्देहीकै ऐतिहासीक मन्दिर हो ।
यहाँ हरेक शिवरात्रीको दिन यहा भव्य मेला लाग्दछ । पुजापाठ गर्नको लागी राती देखि नै भक्तजनहरु लाइनमा बसेका छन् । मन्दिर देखि ५०० मिटर पर सम्म लामबद्ध भक्तजनहरुको उपस्थिती छ ।
भगवान् महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज भैरहवा आसपास लगायत भारतका भक्तजनहरुको उपस्थिती छ । सुरक्षाका हिसावले पनि महिला जनपद प्रहरी र स्थानीय स्वयंसेवकको सहयोगमा भक्तजनहरुलाई सहज तरीकाले मन्दीर प्रवेश र पुजाको व्यवस्था गरिएको छ । विहानै देखि लामबद्ध भएर भक्तजनहरु बसेपनि घण्टामा पुजापाठ र दर्शनको व्यवस्था गरिएको शिव मन्दिर व्यवस्थापन समिति अध्यक्ष शंकर ज्ञवालीले जानकारी दिएका छन । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।