बुटवल । बुटवलको एक कार्यक्रममा मर्यादाक्रम अनुसार आसन ग्रहण नगराएको भन्दै मेयर र उपमेयरले कार्यक्रम नै बहिस्कार गरेका छन् । बुटवल उद्योग वाणिज्य संघले हिजो साँझ आयोजना गरेको पदस्थापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारीलाई आसन ग्रहण गराएपछि कार्यक्रममा सहभागि हुन गएका तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे र बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले कार्यक्रम नै बहिस्कार गरेका हुन् ।
सरकारले जारी गरेको मर्यादाक्रम अनुसार आतिथ्याताको आसन ग्रहण गराउनुपर्नेमा अन्यथा भएकाले आफूहरुले अपमानित महसुस गरी कार्यक्रम बहिस्कार गरेको तिलोत्तमा नगरपालिकाका मेयर घिमिरेले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेलाई प्रमुख अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो भने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा ईश्वर गौतम, बुटवल उपमहानगरपालिककी उपमेयर आचार्य र तिलोत्तमा नगरपालिकाका मेयर घिमिरेलाई विशिष्ट अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो ।
‘मसँगै बुटवल उपमहानगरपालिकाकी उपमेयर पनि हुनुहुन्थ्यो । आयोजकले प्रमुख अतिथिका रुपमा प्रजिअको नाम बोलाएपछि हामीलाई अपमान गर्न खोजिएको हो कि भन्ने लाग्यो ।’ उनले भने–‘त्यसपछि एकछिनमा हामी हिड्यौं ।’
कार्यक्रम बहिस्कार गरेका मेयर र उपमेयरहरुलाई त्यस पश्चात आयोजकले केही पनि प्रतिक्रिया नदिएको उनले बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख आचार्यले समयमा नै कार्यक्रमस्थल पुगेको भएपनि आयोजकले नियतबसः मर्यादाक्रम विपरित त्यसो गरेको हो कि भन्ने लागेर कार्यक्रम बहिस्कार गरेको बताइन् । यता कार्यक्रम आयोजक बुटवल उद्योग वाणिज्य संघले जनप्रतिनिधिको अपमान गर्ने उद्देश्य नरहेको बताउँदैं प्रमुख आतिथ्यताका लागि बोलाएका व्यक्ति समयमा नआउँदा मर्यादाक्रम हेरफेर भएको हुनसक्ने बताएको छ ।