गुल्मी -गुल्मीको पराम्लीका तुलबहादुर विकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। घट्ना भएको झण्डै दुई महिनापछि प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो। हत्यामा संलग्न भएको आरोपमा गुल्मी दरवार गाउँपालिका १ का ३१ बर्षिय पोम बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
गत माघ ३ गते बिहान घाँस काट्न जङ्गल गएका विक रेसुङा नगरपालिका १ बलिथुममा दिउँसो २ बजे छातीमा बन्दुक लागेको अबस्थामा मृत फेला परेका थिए । हत्या आरोपित घर्तीले बिकलाई सिकार खेल्ने क्रममा बन्दुकले हानेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
घटनामा प्रयोग गरिएको बन्दुक समेत प्रहरीले बरामद गरेको छ । आरोपितको बयानको आधारमा स्थानीय जङ्गलमा तीन टुक्रा पारेर छुट्टाछुट्टै ठाउँ लुकाएको अवस्थामा बन्दुक बिहान फेला पारिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनले समुदायकै सहयोगमा घटना बाहिर आएकाले अब इस्मा घटनामा प्रहरी केन्द्रित हुने बताए ।
मृतकका छोरा शालिकराम बिकले बुवा फर्केर नआए पनि अपराधी उम्कन नपाएकोमा प्रहरीलाई धन्यवाद दिए । उनले लामो समय अभियुक्त नभेटिएपछी मरेको आशा र न्याय बल्ल प्राप्त भएको प्रतिक्रिया दिए । मृतककी श्रीमती गिता बिकले मर्ने मरेपनी दोषी उम्किदा बाचेकालाई पनि गाउँमा बस्न सक्ने स्थिति नभएको बताउदै ढिलोचाडो राहत महसुस भएको बताइन।