बुटवल- यही बैशाख ७ गते जितगढीमा गर्ने भनिएको विजय उत्सव समारोह स्थगित भएको छ। पछिल्लो समय फैलिएको कोरोना संक्रमणको कारण कार्यक्रम स्थगित गरिएको बुटवल उपमहानगपालिकाले जनाएको छ। वि. सं.१८७२ बैशाख ७ गते कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई पराजित गरेको सम्झनामा जितगढीमा विजय उत्सव मनाउन थालिएको थियो।
२०७६ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा भव्य कार्यक्रम भएको थियो । गत वर्ष कोरोना संक्रमणको कारण समारोह भएन। दुई वर्ष अघि जस्तै यो पटक पनि भव्य रुपमा जितगढीमा विजय उत्सव मनाउने तयारी उपमहानगरपालिकाले गरेको थियो। विजय उत्सव मनाउन फागुन २८ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरप्रमुख शिवराज सुवेदीको संयोजकत्व तथा उपप्रमुख गुमादेवी आचार्यको सह संयोजकत्वमा मुल समारोह समिति बनाएको थियो ।
समितिमा कार्यपालिका सदस्य सहित नगर भित्रका राजनीतिक दर, सुरक्षा निकाय, सरकारी कार्यालय, विभिन्न संघ संस्थाका प्रमुखहरुलाई सदस्यको रुपमा राखिएको थियो। त्यस्तै १० वटा जति उपसमितिहरु समेत गठन गरिएको थियो।चैत्र महिनामा भारत हुँदै नेपालमा कोरोना संक्रमण पुन बढ्न थाल्यो। संक्रमण बढ्न थालेपछि उपमहागरपालिकाले जितगढीमा गर्ने भनिएको विजय उत्सव कार्यक्रम स्थगित गरेको छ।
गत चैत्र २७ गते बसेको नगर कार्यपालिकाको बैठकले मुल समारोह कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । ‘केही दिन यता कोभिड १९ संक्रमण दर बढ्न गएको पाइएको हुँदा विजय उत्सवको पूर्व तयारी भएता पनि हाल पनि गत वर्ष जस्तै गरी जितगढी विजय उत्सव मनाउने निर्णय गरियो।’ कार्यपालिका बैठकको निर्णयमा भनिएको छ।
कोरोना संक्रमण र लकडाउनको कारण अघिल्लो वर्ष बैशाख ७ गते उजिरसिंहको शालिकमा माल्यार्पण मात्र गरिएको थियो। यस वर्ष पनि जितगढी स्थीत उजिरसिंहको शालिकमा माल्यार्पण मात्र गर्ने र उपमहानगरको हलमा संक्षिप्त कार्यक्रम गर्ने बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। ‘नेपाली सेना, प्रहरीको टुकडी र बाजागाजा सहितको ¥याली गर्ने, जितगढीमा भव्य समारोह गर्ने तयारी थियो। कोरोनाको जोखिम र नेपाल सरकारले पनि भिडभाड नगर्न भनेपछि सानो कार्यक्रम मात्र हुने छ।’ उनले भने ‘सो दिन उजिर सिंहको शालिकमा माल्यार्पण गर्ने र उपमहागरको हलमा दुरी कायम गरेर ५०–६० जनाको उपस्थितीमा सानो कार्यक्रम गर्छौं।’
ऐतिहासिक र गौरवगर्न लायक स्थल भएर पनि बुटवलको मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी किल्ला ओझेलमा थियो। नेपाली सेनाको सहयोगमा पूर्वाधार निर्माण, रंगरोगन र झण्डा फहराउने काम भएको थियो।