कपिलबस्तु -गोली प्रहारबाट गम्भीर घाइते भएका कापिलबस्तुका माओवादी नेता दिपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा काठमाडौँमा निधन भएको जिल्ला प्रहरी कार्यालय कापिलबस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य अवस्था जटिल बनेपछि सोमबार काठमाडौँ लगिएको थियो । माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य रहेका उनी गत स्थानिय चुनावमा कपिलबस्तु नगरपालिकाबाट मेयरको उमेद्वार समेत रहेका थिए ।
मधेस आन्दोलनको समयमा मधेसी दलमा रहेर राजनीति गर्नुभएका पाण्डे पछिल्लो समय माओवादी केन्द्रमा सक्रिय थिए। पाण्डे र उनीसँगै रहेका एक जना भारतीय नागरिक मोहमद इर्साद खानलाई गत बुधबार राति तौलिहवा-जीतपुर सडकखण्डमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए। पाण्डेमाथि तीन राउण्ड गोली लागेको थियो ।
गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का अभियुक्त फरार छन् ।