बुटवल । बुटवलको हिलपार्कमा करीब ४० किलोमिटर टाढा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिने गरी बुद्धमूर्ति निर्माण हुने भएको छ।
बुद्धमूर्तिसहितको पार्क निर्माण गर्न बुटवल उपमहानगरपालिकाले वातावरणीय प्रभाव मुल्याङ्कनका लागि क्षेत्र निर्धारण गर्न सूचना जारी गरेको छ । योसँगै लामो समयदेखि अवधारणाको रुपमा रहेको ‘बिग बुद्धमूर्ति’ निर्माणको प्रक्रिया अघि बढेको छ ।
बुद्धमूर्ति पार्क निर्माणस्थलमा प्रभावित हुनसक्ने क्षेत्रहरु निर्धारण गरी त्यहाँका स्थानीय, संघसंस्था तथा सरोकारवालाको राय लिनका लागि सार्वजनिक सूचना जारी गरिएको हो ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पार्क निर्माणस्थलको वातावरणीय प्रभाव मुल्याङ्कनको काम अगाडि बढाइएको जानकारी दिए । मंगलबार जारी गरिएको सूचनामा सात दिनभित्र लिखित राय सुझाव उपलब्ध गराइदिन प्रभावित वडाहरु एवं त्यस क्षेत्रमा पर्ने विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाहरुलाई अनुरोध गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले २०७५ सालमा बनाएको पाँच बर्षे आवधिक योजनामा हिलपार्कमा बुद्धमूर्तिसहित पार्क निर्माण गर्ने योजनालाई पनि समावेश गरिएको थियो । योजनाअनुरुप ललितपुरको मल्टिडिसिप्लिनरी कन्सल्ट्यान्टले योजनाको पूर्वसम्भाव्यता अध्ययन गरी डिपिआर तयार पारेको छ । कन्सल्टेन्सीका अनुसार बौद्ध दर्शनका विज्ञ डा. विजयराज बज्राचार्य र देश विदेशमा बुद्धका मुर्ति बनाएर ख्याती कमाएका कलाकार राजकुमार शाक्यको राय तथा सल्लाहमा बौद्ध मान्यताअनुसार मुर्ति निर्माण गर्न डीपीआर बनाइएको हो ।
कन्सल्टेन्सीले आयोजनाका दुई विकल्पसहित विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार पारिसकेको छ । कन्सल्टेन्सीले उक्त प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवाली, अर्थमन्त्रालयका प्रतिनिधि वसन्त अधिकारी र श्रीकृष्ण नेपाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपमहानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत चक्रपाडी शर्माको सहभागितामा ०७७ साउनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरेको थियो । त्यसपछि बुद्धमुर्तिको आयोजनामा संघीय सरकार र प्रदेश सरकारले समेत लगानी गर्न चासो देखाएका छन् ।
कन्सल्टेन्सीले दिएको दुई विकल्पमध्ये पहिलोमा बुद्धमूर्तिको अनुहारमा मात्रै सुनको जलप लगाउन सकिन्छ । दोस्रोमा भने मूर्तिको पुरै भागमा सुनको जलप लगाउन सकिन्छ । उपलब्ध हुने स्रोत सुनिश्चिततालाई हेरेर आयोजनाको कुन विकल्पमा जाने भन्ने निधो हुने प्रमुख सुवेदी बताउँछन् ।
आयोजनाको स्रोत सुनिश्चितता भने ईआईए सकिएर जग्गा प्राप्ति भएपछि हुनेछ । इआइएका लागि उपमहानगरपालिकाले परामर्शदाता ह्यान्ड्स फर ग्रीनरी कन्जरभेसन प्रालि काठमाडौंलाई आगामी असोज १५ गतेसम्मको म्याद दिएको छ । कम्पनीका इआइए एक्सपर्ट लिला पौडेलले समयसीमा भित्रै इआइएको काम सक्ने लक्ष्यसहित आफूहरु ‘फिल्ड’मा खटिइरहेको बताए । उनले भने–‘आयोजनाको प्रभावित क्षेत्रमा अन्तक्रिया भइरहेको छ । लक्षित समूह, सामूदायिक बन उपभोक्ता, प्रभावित टोलहरुमा छलफल भइरहेको छ । तोकिएको समयभित्रै इआइए डकुमेन्ट तयार हुन्छ ।’
उक्त इआइए प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेपछि जग्गा प्राप्ति र स्रोत सुनिश्चितताका कामहरु हुने नगरप्रमुख सुवेदीको भनाइ छ । पार्क निर्माणस्थल चुरे क्षेत्रमा पर्ने भएकाले जग्गा प्राप्तिका लागि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र वन मन्त्रालयबाट स्वीकृति पाउनु पर्ने हुन्छ ।
बुद्धमूर्ति पार्क नै किन ?
बुटवल उपमहानगरपालिकाका अनुसार लुम्बिनी आएका पर्यटकलाई बुटवलसम्म ल्याउने माध्यम बन्न सक्छ, बुद्धमूर्ति पार्क । बुद्ध र लुम्बिनी पर्यटकीय हिसाबले ‘क्यास’ गर्न सकिने ऐतिहासिक पूँजी भएको र बुटवलको ऐतिहासिकता लुम्बिनीसँग सिधा जोडिएकाले बुद्धमूर्ति बनाउने योजना प्रस्ताव गरिएको नगरप्रमुख सुवेदीको भनाइ छ ।
‘ऐतिहासिक पूँजीलाई अन्य देशहरुले विभिन्न तरिकाबाट बजारिकरण गरेका छन् । त्यसरी नै उनीहरुले आर्थिकरुपमा फड्को पनि मारेका छन्,’ उनले भने–‘बुद्ध र लुम्बिनीको बजारिकरण गर्ने आयोजनाका रुपमा बुद्धमूर्ति पार्कलाई बुझ्दा हुन्छ ।’
लुम्बिनीबाट ठिक ४५ डिग्री पूर्व–उत्तरमा हिलपार्कको डाँडो पर्ने भएकाले यहाँ बुद्धको मूर्ति राख्दा सान्दर्भिकता झनै बढ्ने उनको तर्क छ ।
यस्तो बन्दै छ बुद्धमुर्ति पार्क
विस्तृत परियोजना प्रतिवेदनका अनुसार बुटवलबाट ४२ किलोमिटर दक्षिण–पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देखिने गरी हिलपार्कमा बुद्ध मुर्तिसहितको पार्क बनाउने योजना छ । यसका लागि कुल एक अर्ब १४ करोड ३४ लाख ३१ हजार पाँच सय ६३ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
प्रतिवेदनका अनुसार पार्क चार वटा ब्लकमा निर्माण गरिने छ ।
पहिलो ब्लकमा बुद्धमुर्ति बन्ने छ । ७.८ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाईको शाक्यमुनी बुद्धको मुर्ति बनाइने छ । बुद्ध अर्धकमलमाथि भूस्पर्श मुद्रामा बसिरहेका हुनेछन् । मुर्तिको सतह ३ मिलिमिटर मोटाइ रहेको तामाले बनाइने छ । अनुहारमा सुनको जलप लगाइने छ । बाँकी शरिरमा सुनौलो ‘इपोक्सी’ रंग लगाइने छ । यसो त डीपीआरमा पुरै शरिरमा सुनको जलप लगाउन सकिने विकल्प पनि दिइएको छ ।
सुनौलो रङमा पोतिएका बुद्ध करिब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको मायादेवी मन्दिरतर्फ फर्किएर घोत्लिइरहेका हुनेछन् । प्रतिवेदन अनुसार बुद्धमुर्तिको अनुमानित लागत ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ रुपैयाँ छ ।
पार्कको दोस्रो ब्लकमा तीन तले ‘मंक रेसिडेन्स’ अर्थात् भिक्षुगृह बनाइने छ । यसको अनुमानित लागत तीन करोड ६७ लाख ३४ हजार आठ सय सात रुपैयाँ रहेको छ ।
पार्कको तेस्रो ब्लकमा एक तले क्याफेटेरिया र चौंथोमा एक तले शौचालय बनाइने छ । यी दुई संरचनाको अनुमानित लागत क्रमशः ६७ लाख १४ हजार ६ सय ४३ रुपैयाँ र ३२ लाख ५८ हजार एक सय ८८ रुपैयाँ रहेको छ ।
यीबाहेक पार्कमा टेलिकम्युनिकेशन, सरसफाई तथा ढल प्रणाली, पानी आपूर्ति लगायतका संरचना बन्नेछन्, जसको अनुमानित खर्च चार करोड ८९ लाख एक हजार तीन सय ४७ रुपैयाँ रहेको छ ।
बुद्धमूर्ति पार्कको निर्माण सम्पन्न भएपछि नियमित रुपमा हुने पुजाआजा, ध्यान/मेडिटेशन गर्न तथा अवलोकनका लागि आउने आगन्तुकहरुसमेत गरी हिलपार्कमा दैनिक रुपमा २००० भन्दा धेरै मानिसहरुको आवतजावत हुने उपमहानगरपालिकाको आंकलन छ ।