खस्यौली-रुपन्देहीका स्थानीय तहले कोभिड– १९ विरुद्ध धमाधम अस्थायी क्वारेन्टाइन र विपद् कोष निर्माण गरेका छन्।
जिल्लाको कञ्चन गाउँपालिकाले कोभिड–१९ विरुद्ध रुद्रपुरको गरगरेमा अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ भने गैडहवा गाउँपालिका–४ स्थित नवदुर्गा माविमा पनि शनिबारदेखि सञ्चालन हुने गरी अस्थायी क्वारेन्टाइन निर्माणको तयारी गरेको छ।
गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले कोभिड–१९ विरुद्ध रु १० लाखको विपद् कोष निर्माण गरिएको जानकारी दिए । सो क्वारेन्टाइनमा चारजना स्वास्थ्यकर्मी रहनेछन्।
त्यस्तै कञ्चन गाउँपालिका–४ स्थित हिमालय आधारभूत विद्यालयमा अस्थायी क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए। सो क्वारेन्टाइन २५ श्ययाको हुने र त्यहाँ हेल्थ असिसटेन्ट, अनमी लगायतका करीब १५ स्थास्थ्यकर्मी रहने बताइएको छ। गाउँपालिकाले कञ्चनवासीलाई घरबाहिर ननिस्कन र आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा रहन निर्देशन दिएको छ।
कञ्चन गाउँपालिकामा छिमेकी देश भारतबाट घर आउनेको सङ्ख्या बढ्दै गैरहेको र भारतबाट आएकालाई सम्भावित कोरोना भाइरसको संङ्क्रमण हुन सक्ने भन्दै उनीहरुलाई आफ्नै घरमा बस्न र घरबाहिर निस्केर आवतजावत तथा घुमफिर नगर्नसमेत आग्रह गरिएको छ।
स्वास्थ्य चौकी, रुद्रपुरकी बिमला पाण्डेले अहिलेसम्म कूल ३२ जना रुघाखोकी र ज्वरोका बिरामी आएको र उनीहरुलाई औषधि दिएर होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताइन्। उक्त गाउँपालिकाले पनि रु १० लाखको विपद् कोष खडा गरेको छ। “कतिपय भारतबाट आएका व्यक्तिहरु पनि छन्, उनीहरुलाई पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ”, उनले भनिन्।रासस