बुटवल– चाडबाडको सिजन शुरु भएसँगै उपभोग्य वस्तुको आयात बढेको छ ।
व्यवसायीले चाडबाडलाई लक्षित गरेर भारत तथा तेस्रो मुलुकबाट मालसामान आयात बढाएका हुन् ।
अन्य सिजनमा धेरै मात्रामा औद्योगिक कच्चा पदार्थ भित्रने भैरहवा भन्सार कार्यालय बेलहियामा अहिले खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारी साधनलगायतका सामान बोकेका गाडी लाम लागेका छन् ।
बेलहिया नाकाबाट दशैं, तिहारका लागि एक अर्बभन्दा बढीको लत्ताकपडा आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले चाडपर्वका लागि साउन, भदौ र असोजमा लत्ताकपडाको आयात बढी मात्रामा हुने बताए ।
भैरहवाबाट साउनमा ३० करोड ७४ लाखको सुती तथा तयारी कपडा आयात भएको थियो । भदौ र असोजमा ३५–४० करोडका लत्ताकपडा आयात हुने अनुमान गरेको सूचना अधिकृत पौडेलको भनाई छ ।
भारतको बैंगलोर, लखनउ, मेरठ, गुजरात, मद्रास, बनारस, गोरखपुरजस्ता स्थानबाट नेपालमा तयारी र कच्चा कपडा आयात हुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए ।
पछिल्लो समय सस्तो र फेन्सी हुने भएकाले चिनियाँ कपडाको खपत र आयात दुवै बढेको पनि अध्यक्ष न्यौपाने बताए ।
यसबाहेक तेस्रो मुलुक हङकङ, कोरिया, थाइल्यान्ड, अमेरिकाबाट समेत दशैंलाई लक्षित गरेर तयारी कपडा नेपाल भित्रिने न्यौपानेले जानकारी दिए ।
विदेशी ब्रान्डका कपडा बुटवल, भैरहवा, तानसेनजस्ता सहरमा खपत भएपनि भारतीय तथा चिनियाँ कपडा आधाभन्दा धेरै पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, स्याङ्जा र दाङसम्म पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।
फलफुलको आयात पनि बढ्यो
चाडबाडमा अत्याधिक माग हुने स्याउ, केरा, भुइँकटहर, अनार लगायतका फलफुल बेलहिया नाकाबाट आयात बढेको छ ।
साउन–भदौमा दैनिक ५० देखि ७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसँगै दैनिक एक सयभन्दा बढी फलफूलका गाडी नेपाल भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ ।
यो नाकाबाट भित्रिने फलफूल बुटवलको थोक बजार केन्द्र हुँदै पहाडी जिल्लासहित चितवन र काठमाडौंसम्म पुग्छ ।
चाडपर्वकै लागि अहिले खाद्यान्नको आयात पनि तुलनात्मक रुपमा बढेको छ । विशेषगरी यो समयमा मसरसला, तेल, पिठो, मैदा, मसिनो तथा बास्नादार चामलको आयात बढ्ने गर्दछ ।
मसिनो तथा बास्नादार चामल, दाल, तेल, मैदा, घर सजावटका सामानको माग पहाडी जिल्लामा बढी हुने गरेको सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव नेत्र प्रसाद आर्चायले उल्लेख गरे ।
दशंैमा तराइमा अन्य सामानका साथै इलेक्ट्रोनिक र सवारी साधनको पनि बिक्रि बढी मात्रामा हुने गरेको छ ।
चाडपर्व लक्षित गरेर व्यापारीहरुले गत साउनदेखि नै सवारी साधनको आयात पनि बढाएका छन् । भैरहवा नाकाबाट वार्षिक साढे २३ अर्ब बराबरको सवारी साधन आयात हुन्छ । आयातको झन्डै ४० प्रतिशत कारोबार दशैंतिहारको समयमा हुने अटो व्यवसायी तथा जगत मोर्टस प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले जानकारी दिए ।
उनले दशै र तिहारको बेलामा उपभोक्ताले नयाँ गाडी किन्ने भएकाले यो समयमा गाडीको बिक्री बढ्ने गरेको बताए ।
दशंै, तिहार लक्षित बजारका लागि बेलहिया नाकाबाट पाँच अर्बभन्दा बढीका जिप, कार, भ्यान र मोटरसाइकल आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।