बुटवल–बुटवलबाट तानसेन जोड्ने सडक २०१८ सालदेखि खन्न शुरु भयो। २०२८ सालदेखि गाडी चल्न थाले। सिद्धार्थ राजमार्गको यो खण्डको रुपन्देहीको बुटवल चिडियाखोलादेखि पाल्पाको झुम्सासम्मको करीब ५ किलोमिटर सडक खण्ड मृत्युमार्गका रुपमा बदनाम छ।
यो बाटो हिड्नुपरे यात्रुले पहराबाट ढुंगा खसेर च्याप्ने हो कि, ढुंगासहितको पहिरोले बगाउने हो भन्ने चिन्ता हुन्छ। यही डरले विकल्प भएका यात्रुले बाटो बदल्छन्। अर्घाखाँचीको पूर्वीभेगमा जाने यात्रु पहिरोकै डरले कपिलवस्तु गोरुसिंगे हुँदै अर्घाखाँचीको सन्धिखर्क भएर गन्तव्यमा पुग्छन्। गुल्मीको पश्चिम भेगका यात्रु पनि यसै गर्छन्।
तर गुल्मीको पूर्वीभेग, पाल्पा, स्याङ्जा, कास्की, वाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङलगायतका जिल्लामा जानेका लागि यही सडकको विकल्प छैन। बुटवलबाट नारायणगढ–मुग्लिन–पोखरा हुँदै जाँदा समय र पैसा दुवै बढी खर्च हुन्छ।
अर्घाखाँचीका प्रेमप्रसाद पाण्डे भन्छन्–‘अलिअलि पानी पर्यो कि यो बाटो हिड्नै मन लाग्दैन, कोही आफन्त, साथीभाइ बाध्य भएर यही बाटो आउने भए छिनछिनमा फोन गरेर हालखबर बुझ्नुपर्छ, यस्तो डरलाग्दो छ।’
यस्तै डर मान्दै आउने कतिपय दुर्घटनामा पर्छन्। ठूलासाना गरी दैनिक २ हजारको हाराहारीमा गाडी चल्ने यो बाटोमा सात वर्षको अवधिमा भएका ३८ दुर्घटनामा ३१ जनाको मृत्यु भयो भने १२ जना घाइते भए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यो सडक खण्डको करीब ५ किलोमिटर दुरीमा वर्षेनी ३ देखि ४ जनाले ज्यान गुमाउँछन्।
आर्थिक वर्ष २०७०/०७१ मा ११ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ४ जना, ०७३/०७४ मा २ जना, २०७४/०७५ मा ४ जना, २०७५/०७६ मा ३ जनाको मृत्यु भएको तथ्यांक प्रहरीसँग छ।
आर्थिक वर्ष २०६८/०६९ देखि ०७६/०७७ सम्ममा तल्लो सिद्धबाबादेखि दोभानको प्रहरी चौकीसम्मको दुरीमा ४० जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३४ जना गम्भीर घाइते भए, १३ जना घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सो क्षेत्रमा ७१ वटा सवारी ५३ वटा दुर्घटनामा परी ४४ वटा गाडीमा क्षति भएको थियो। जसमध्ये मोटरसाईकल २३ वटा, ट्रक, जीप र कार १७–१७ वटा, बस १३ वटा र एउटा टेम्पो दुर्घटनामा परेका थिए।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी डम्बरबहादुर विश्वकर्माले यो क्षेत्र दुर्घटनाको जोखिम क्षेत्र रहेको बताए। ‘बर्खायाम शुरु भएपछि यो क्षेत्रमा पहिरो खसेर दुर्घटना हुने गरेका छन्, उनले भने–हामीहरु हरेक दिनजसो यो क्षेत्रमा खस्ने पहिरो व्यवस्थापनमै जुट्नुपर्छ।’
कहिले सुरुङमार्गको चर्चा, कहिले रकनेटको चर्चा
यो सडकमा पहिरो खसेर ज्यान गुमाएको खबर पछि सडकको सुधारमा भन्दा बढी सुरुङमार्गको चर्चा शुरु हुन्छ । नेताहरु, सरकारी अधिकारीहरु आउँछन् र सुरुङमार्गको चर्चा गर्छन्।
यो कुहिरे भीरबाट खस्ने पहिरो रोक्न र सडक सुधार गर्न भन्दै एक वर्षमा ५० लाखभन्दा धेरै खर्च हुन्छ। रुपन्देही र पाल्पाका जनप्रतिनिधिहरु सडकको जोखिम हटाउनेबारे कैयौंपटक सार्वजनिक रुपमा बोल्छन्। सुरुङमार्गको बारेमा पनि आश्वासन सुनाउँछन्।
सडकको सबैभन्दा बढी जोखिम तल्लो सिद्धबाबादेखि दोभान प्रहरी चौकीसम्मको ३ किलोमिटर क्षेत्रमा करीब १ सय वटा सानाठूला पहिरो खस्छन्। भूगर्भविद् रञ्जन दाहाल पहाडको संरचना कमजोर भएका कारण पटक पटक पहिरो खस्ने गरेको बताउँछन्।
चुरे पहाडको संरचना कमजोर भएकाले पहिरो खसिरहने उनको भनाई छ। कमजोर संरचना भएकाले पटक पटक खसिरहने पहिरो रोक्न जियोटेक सोलुसन्स इन्टरनेशनल प्रालिले रकनेट प्रविधिमार्फत पहिरो रोक्न परीक्षण गरेको थियो। जापान सरकारको सहयोगमा वीपी राजमार्गमा प्रयोग भएको प्रविधि यहाँ पनि उपयोगी हुने ठहरका साथ पहाडमा जाली लगाएर ढुंगालाई अड्याउने प्रयास भएको थियो।
रकनेट प्रविधिको परीक्षणपछि संघ सरकारले सुरुङमार्गको अध्ययन गरायो । स्वीटजरल्याण्ड सरकारको सहयोगमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भएको छ। परामर्शदाता कम्पनी इटेगोले तयार पारेको डीपीआरका आधारमा सुरुङ बनाउने संघ सरकारको योजना छ।
डीपीआरअनुसार सुरुङ बनाउन करीब ९ अर्ब रुपैयाँ लाग्छ। सिद्धबाबादेखि दोभानसम्म करीब सवा १ किलोमिटर दुरीको सुरुङ बन्नेछ। चालु आर्थिक वर्षका लागि सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका लागि ३३ करोड रुपैयाँ छुट्याएको छ। प्रदेश ५ सरकारले पहाड काटेर फराकिलो बनाउने योजना बनाएको छ।
सँगसँगै वैकल्पिक मार्ग बनाइँदै
यो क्षेत्रमा बढी दुर्घटना भएपछि प्रदेश र स्थानीय सरकारले वैकल्पिक मार्ग बनाउन थालेका छन्। रुपन्देहीको चरङ्गेमुडाबास– चौकी भञ्ज्याङ–ज्यामिरे–झुम्सा सडक सिद्धबाबाको विकल्पको रुपमा अगाडि बढेको छ।
पाल्पाको तिनाउ गाउँपालिकाले आसपासका अरु नगरपालिका र गाउँपालिकासँग मिलेर अघिल्लो वर्ष करीब ९० लाख खर्चेर वैकल्पिक सडकको ट्याक खोलेको छ। यो सडकका लागि चालु आर्थिक वर्षका लागि प्रदेश ५ सरकारले १५ करोड रुपैयाँ बजेट छुट्याएको छ।