बुटवल–बुटवलको व्यस्त ठाउँमा भत्किएको सडकको मर्मत थालिएको छ। सिद्धार्थ र पूर्वपश्चिम राजमार्गको बुटवलका ट्राफिकचोकदेखि अस्पताललाईन हुँदै मिलनचोक पुग्ने सडकमा रहेका खाल्डाखुल्डीहरु सडक डिभिजन कार्यालय बुटवलले मर्मत गर्न थालेको हो ।
गत बुधबार लुम्बिनी टाइम्स डट कममा ‘बुटवल मध्यबजारको सडक, जसले बुटवल उपमहानगर र प्रदेश सरकारलाई गिज्याइरहेछ’ भन्ने शिर्षकको समाचार प्रकाशित भएको थियो।
समाचार प्रकाशित भएपछि सडक निर्माण गर्ने निकायका विरुद्ध नागरिक स्तरबाट र सामाजिक सञ्जालबाट व्यापक आलोचना भएको थियो।
उनीहरुले सडक डिभिजन कार्यालयसँगै जनप्रतिनिधिको कार्यशैलीबारे प्रश्न उठाएका थिए। शुक्रबार भने सडक डिभिजन कार्यालय बुटवलले मर्मत थालेको छ।
सवारी साधन ओहोरदोहोर गर्न सहज होस भनेर अस्थाइ प्रकारको मर्मत थालिएको डिभिजन प्रमुख मेघराज मरासिनीले बताए।
‘स्थायी समाधान गर्न पानी आइरहेकाले मिल्दैन, त्यो ठेकदारले नै गर्छ, तत्कालको लागि अस्थायी प्रकारको समाधान गर्दै छौं–उनले लुम्बिनी टाइम्ससँग भने–मिक्स मेट्रियललाई सुख्खा सिमेन्टमा मोलर राखेका छौं, माथिबाट रोलिङ पनि गर्छौ’
यसबाट तत्कालको लागि यात्रुहरुलाई केही राहत हुने मरासिनीले बताए। २ वर्ष भन्दा बढी समयदेखि सडक सुधार हुन नसक्दा यात्रुहरुलाई सास्ती भएको थियो। राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारसँगै बिग्रेका सडक मर्मत गर्न भनि ठेक्का लागेको थियो।
तर राजमार्ग आसपासका घरधनीहरु अदालत गएपछि सडक विस्तार अलपत्र छ। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक विस्तारको लागि २०७४ चैत्रमा निर्माण कम्पनीसँग सम्झौता भएको भएपनि मुद्दा मामिलामा अल्झिदा सडक विस्तार ढिलाइ भएको छ।
पछिल्लोपटक चैत्र ५ गते डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै १५ दिनभित्र घर भत्काउन भनेको थियो। तर लकडउनमा घर भत्काएर अलपत्र पार्न खोजेको भन्दै बुटवलका घरधनी पुन अदालत गएका थिए। अदालतको अन्तरिम आदशेबाट पुन सडक विस्तारको काम रोकिएको छ।