काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९” माथिको दफावार छलफल भएको छ ।
छलफलमा विधेयकमाथि संशोधन प्रस्ताव राख्दै संशोधनकर्ता सांसदहरुले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सात बर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था राखिनुपर्ने बताउनुभएको छ ।
विधेयकमाथिको दफावार छलफलमा छुट्टाछुट्टै संशोधन प्रस्ताव राख्दै संशोधनकर्ता सांसद खगराज अधिकारी, विद्या भट्टराई, यज्ञ बहादुर बोगटी, शान्तिमाया तामाङ पाख्रिन, कृष्ण बहादुर राई र नरबहादुर धामीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सात स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था राखिनुपर्ने बताउनुभयो ।
विधेयकमाथि संशोधन राख्ने क्रममा सांसद भिमबहादुर रावलले यसअघि नागरिकता विधेयकमा राज्य व्यवस्था समितिले दिएको प्रतिवेदनलाई लत्त्याएर हतारो र छलछाममा विधेयक ल्याइएको भन्दै वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न निश्चित अवधि स्थायी बसोबास गर्नुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
संशोधनकर्ता अर्का सांसद लालबाबु पण्डितले यसअघि राज्य व्यवस्था समितिले व्यापक छलफल गरी दिएको प्रतिवेदनसहितको विधेयक सरकारले फिर्ता लिएकोप्रति आपत्ति जनाउँदै वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सात बर्ष स्थायी बसोबास गर्नुपर्ने व्यवस्था राख्नुपर्ने बताउनुभयो ।
विधेयकमाथि संशोधन राख्दै सांसद गङ्गा चौधरी सतगौवाले नेपाली पुरुषसँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने व्यवस्था देशको हित विपरीत हुने बताउनुभयो ।
संशोधनकर्ता अर्का सांसद कृष्ण प्रसाद दाहालले २०७२ असोज ३ गतेअघि जन्मका आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबुआमाका सन्तानले दाजु दिदीले सरह नागरिकता पाउनुपर्ने व्यवस्था राखिनुपर्ने बताउनुभयो ।
उहाँले बेलायतमा कार्यरत गोर्खा सेनाका हकमा दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा राखिनुपर्ने बताउनुभयो ।
विधेयकमा संशोधन राख्दै सांसद धनश्याम खतिवडाले विधेयकभित्र ल्याइएको दफाहरू संविधान प्रतिकुल रहेको ध्यानाकर्षण गराउँदै अङ्गीकृत नागरिकता विवाह गरेर स्थायी बसोबास गरेको ७ वर्षपछि मात्र पाउने व्यवस्था राखिनुपर्ने बताउनुभयो ।
उहाँले बाबुको प्रबन्ध नभएका सन्तानले नागरिकता प्राप्त गर्ने व्यवस्था जटिल भएकाले सहज बनाउनुपर्ने बताउनुभयो ।
विधेयकमाथि संशोधन राख्दै सांसद गोकुलप्रसाद बास्कोटा र गणेश कुमार पहाडीले जन्मका आधारमा पाउने नागरिकता एक पटकलाई मात्र हुने भन्दै अङ्गीकृत नागरिकताको हकमा अवधि नतोकी पाउने व्यवस्था राखिनु नहुने बताउनुभयो ।
विधेयकमाथि संशोधन राख्दै सांसद बिन्दा पाण्डे, विमला विक, विना कुमारी श्रेष्ठ र सुजिता शाक्यले लैङ्गिक विभेदसम्बन्धी प्रावधान हटाउँदै आमाका नाम वा बाबुका नामबाट सन्तानले प्राप्त गर्ने नागरिकता पहिचानसहितको हुने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
उहाँहरूले वैवाहिक अङ्गीकृत नागरिकता पाउन कुनै अवधि वा सीमा विहीन बनाउन नहुने बताउनुभयो ।
संशोधनकर्ता सांसद शेरबहादुर तामाङ र यज्ञराज सुनुवारले ब्रिटिस गोर्खा र उनका सन्तानले नेपालको वंशजको नागरिकता पाउने र बाबुको ठेगान नलागेका सन्तानलाई आमाका नामबाट नागरिकता पाउने व्यवस्थालाई सहज बनाउनुपर्ने बताउनुभयो ।
उहाँहरूले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न निश्चित अवधि स्थायी बसोबास गर्नुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
संशोधनकर्ता सांसद सूर्यप्रसाद पाठकले गैर आवासीय नागरिकता गृह मन्त्रालयमा नै जानुपर्ने नभई सम्बन्धित जिल्लाबाट नै पाउने व्यवस्था राखिनुपर्ने बताउनुभयो ।
नागरिकता विधेयक माथिको दफावार छलफलमा संशोधन राख्दै संशोधनकर्ता सांसद दुर्गा पौडेलले जन्मका आधारमा वंशजको नागरिकता दिन नहुने भन्दै यस्तो व्यवस्थाले नेपाली नै अल्पमतमा पर्ने व्यवस्था राष्ट्रघाती हुने बताउनुभयो ।
विधेयकमा संशोधन राख्दै सांसद प्रेम सुवालले आमा र बाबु दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिनु पर्ने र नेपालीसँग विवाह गरेका पुरुष र महिलालाई बीस वर्षपछि नेपालको कृत्रिम नागरिकता दिनुपर्ने धारणा राख्नुभयो ।
यसअघि, बैठक सुरु हुनासाथ समय माग गर्दै सांसद मिनेन्द्र प्रसाद रिजालले नेपालको पहिलो संसद्को नेता भएको स्मरण गराउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर जनतालाई सार्वभौम बनाउने नेताको रुपमा रहेको स्मरण गराउनुभयो ।