कपिलवस्तु-कोरोना भाइरसको संक्रमण सबैभन्दा धेरै फैलिने जिल्लामध्येको एक कपिलवस्तुमा फेरि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ।
कपिलवस्तुमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या ८ सय १ पुगेको छ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिकाका एक पुरुष र वाणगंगा नगरपालिकाकी एक जना महिलामा संक्रमण देखिएको हो।
३० वर्षीय ती पुरुषमा घाँटी दुख्ने, ज्वरो आउनेजस्ता कोरोना भाइरसका लक्षण देखिएका छन्। ४५ वर्षकी महिलामा भने कुनै लक्षण देखिएको छैन। पुरुषलाई ज्वरो आएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर उपचार गर्दै गर्दा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय कपिलस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जिल्लामा हाल सम्म ९ हजार ४ २८ स्वाब संकलन भएको र जसमध्ये ७ सय १२ जनाको नतिजा आउन बाँकी रहेको बताए। ८ सय १ संक्रमित मध्ये ५ सय ४८ जना निको भई घर फर्केका छन्।
कपिलवस्तुका संक्रमितमा पछिल्लो समय लक्षण देखिएको छ। ज्वरो आउने, घाँटी दुख्ने, श्वास प्रश्वासमा समस्या हुने, पखाला लाग्नेजस्ता लक्षण देखिएका संक्रमित भेटिन थालेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बन्जाडेले बताए।
‘समुदाय स्तरमा त्यो पनि लक्षणसहितका कोरोना संक्रमित भेटिनु खतराको घन्टी हो-उनले भने-यसले कपिलवस्तुमा जोखिम बढेको छ, थप सचेत र सावधानी आपनाउने बेला आएको छ।'
३ सय २० जनाको नमूना संकलन
समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन कपिलवस्तुमा ३ सय २० जनाको र्याण्डम सेम्पलिङ विधिबाट स्वाब संकलन गरिएको छ। ३ दिनअघि शिवराज नगरपालिकामा एकै पटक ३६ जना संक्रमित भेटिएपछि पिसिआर परिक्षणका लागि द्रुत गतिमा स्वाब संकलन गरी पठाईएको हो।
समुदाय स्तर, सुरक्षा निकाय, ब्यापारी, बैक तथा वित्तिय संस्थाका कर्मचारी, औषधी पसल र पोलिक्लिनिक, पालिकाका कर्मचारी गरी ३ सय २० जनाको नमुना संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
ती नमुनाहरु काठमाडौं, बुटवल र भैरहवा लगायतका प्रयोगशालामा परिक्षणका लागि पठाईएको छ। रिपोर्ट २ दिन भित्र आउने फोकल पर्सन थापाले बताए।
शिवराज नगरपालिकामा ३ सय ६४ जना जनाको स्वाब संकलन
शिवराज नगरपालिका वडा नम्बर १ मा एकैपटक ३६ जना संक्रमित भएपछि संक्रमितको सम्पर्कमा आएका ३ सय ६४ जनाको स्वाब सकलन गरिएको छ।
२ शिक्षक, ४ विद्यार्थी, वडा सचिव र उनका पति समेत संक्रमित थिए। सो समयमा पालिकामा विद्यालय समेत खुला रहेको र समुदायमा समते कोरोना फैलिएको पाइएपछि नगरपालिकाले पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको हो। प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले नगरपालिकामा स्वाब संकलनलाई तीव्रता दिइएको बताए।