बुटवल-एक बैंक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि रुपन्देहीको देवदह नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।
नगरपालिकाको आकस्मिक बैठकले आज मंगलबार राती १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि देवदह क्षेत्रमा अत्यावश्यकबाहेक पैदलयात्रीदेखि सवारीका साधनहरु चल्न नदिने, कुनैपनि पेशा, व्यवसाय सञ्चालन नगर्नेसहितका निर्णय गरेको नगरप्रमुख हिराबहादुर केसीले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
उनका अनुसार अत्यावश्यक सेवाहरु भने रोकिने छैनन्। 'अहिले तत्कालका लागि खाद्यान्न पसलहरु समेत बन्द गर्ने निर्णय भएको छ-उनले लुम्बिनी टाइम्सलाई भने-एम्बुलेन्स, दुध बोक्ने गाडी चल्ने छन् भने उद्योगधन्दा र अरु सबै व्यापार व्यवसाय पनि बन्द हुनेछन्।'
देवदहमा रहेको गरिमा विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि बैंकका कर्मचारीसहित करीब २५ जना होम क्वानरेन्टिनमा छन्।
बैंकको लोन शाखामा कार्यरत ती कर्मचारी बुधबारदेखि काममा नआएकाले त्यतिन्जेलसम्म उनको सम्पर्कमा आएका व्यक्तिहरुलाई सम्पर्कमा आउन नगरपालिकाले आह्वान गरेको छ।
नगरप्रमुख केसीका अनुसार ती कर्मचारीका परिवार, उनले सेवा लिएको मेडिकल, प्याथोलोजी, बैंकमा सेवा लिन आएका सेवाग्राहीहरु र बैंकका सहकर्मीहरुसहित २५ जनाको पीसीआर परीक्षणका लागि तयारी भएको छ।
'उनको सम्पर्कमा को को आउनुभयो भनेर कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि नगरपालिकाको टीम खटिइसकेको छ-उनले लुम्बिनी टाइम्सलाई भने-राती र भोलिबिहानसम्ममा यो काम सकिने छ, पीसीआरको नतिजा के आउँछ त्यसपछि फेरि बैठक बसेर निर्णय लिन्छौं।'