काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ ।
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ ।
संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ ।