बुटवल–कोरोनाको संक्रमण बढिरहदा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिसिआर मेसिन जडान गरिएको छ । पिसिआर मेसिन जडान भएसँगै प्रदेश ५ मा कोरोनाको परिक्षण तिब्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । मेसिन जडान भएपछि अब कोरोना परिक्षण शुरु गरिने अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।
एक करोड ३० लाख बराबरको उक्त पिसिआर मेसिन खरिदको लागि प्रदेश ५ सरकारले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने बाँकी रकम अस्पताल विकास समितिले लगानी गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परिक्षणका लागि पिसिआर मेसिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारीहरु जोखिममा रहेका थिए ।
मेसिन जडानपछि बिरामीहरुको पिसिआर परिक्षण गर्न सकिने र उपचारको लागि पनि ढुक्क हुने अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताए ।
अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परिक्षणलाई पहिलो प्राथमिकता दिइने छ ।
यसका अलावा प्रदेश प्रयोगशालामा परिक्षण हुन बाँकी रहेका स्वाब परिक्षण गरिने डा. खनालले बए । अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकोले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताए ।