बुटवल–रूपन्देहीका दुई विद्यालय नमूना विद्यालयका लागि छनोट भएका छन्। रूपन्देहीको क्षेत्र नम्बर दुई अन्तर्गत पर्ने सैनामैना नगरपालिका–१ को सैनामैना मावि र क्षेत्र १ नम्बर अन्तरग पर्ने देवदह नगरपालिका–४ को केरवानी माविलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमूना विद्यालयमा छनोट गरेको हो।
नमूना विद्यालयका लागि जिल्लाका लिलाराम मावि, भानु, पशुपति, फर्साटिर, सैनामैना र केरवानी आवेदन दिएका थिए। यस वर्ष सरकारले देशभरमा १ सय वटा सामुदायिक विद्यालयलाई नमुनामा छनोट गरेको छ।
यी विद्यालयलाई नमूनामा छनोटका रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले विशेष पहल गरेका थिए। रुपन्देहीका जिल्ला शिक्षा समन्वय अधिकारी दीपेन्द्र ढकालले छनोट भएका विद्यालयहरुले चाँडै नमूना विद्यालय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने बताए।
ढकालले विद्यार्थी संख्या, तीन वर्षको एसईईको नतिजा, जग्गा व्यवस्थापन, ‘प्लस टु’ का कार्यक्रम, इन्टरनेटको पहुँच, वैकल्पिक उर्जा लगायतका ‘इन्डिकेटर’का आधारमा रहेर मूल्याङकन गरी विद्यालय छनोट हुने बताए।
विद्यालय नमूनामा छनौटपछि शिक्षाको गुणस्तर र भौतिक सुधार राम्रो हुन्छ। नमूना विद्यालयमा छनोट भइसकेका रुपन्देहीका कालिका मानवज्ञान, शान्ति, छपियाको पब्लिक मावि, कञ्चनको प्रगति मावि र लुम्बिनी आर्दश माविले शैक्षिक गुणस्तरणसँगै भौतिक विकासमा राम्रो फड्को मारेका छन्।
नमूना विद्यालय सञ्चालन व्यवस्थापन निर्देशिका–२०७४ अनुसार विद्यालय सञ्चालन हुनुपर्नेछ। यी विद्यालयले आफ्नो गुरुयोजना बनाउनेछन्।
गुरुयोजना अनुसार विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि संघीय सरकारले १ करोडदेखि २ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराउँछ। विद्यालयले शैक्षिक, भौतिक, व्यवस्थापकीय र प्रशासनिक सम्झौता गरेर सञ्चालन गनुपर्नेछ।
हरेक वर्ष शैक्षिक गुणस्तरमा अभिवृद्धि, एसईई नतिजामा सुधार ल्याउनुपर्ने हुन्छ। सैनामैना माविका प्रधानध्यापक नेत्र पुरीले शिक्षा विभागले तोकेको ढाँचा अनुसार विद्यालयलाई कार्यक्रम पूर्ण रुपमा कार्यान्वनमा ल्याइने बताए।
सैनामैना माविमा पर्रोहा परमेश्वर आधारभूत मावि ‘मर्ज’ भएको थियो। सैनमैना माविमा १ हजार २ सय ११ विद्यार्थी छन्। विद्यालयको टाढाका विद्यालयमा ल्याउन आफ्नै गाडी समेत छ।