काठमाडौं- नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ।