बुटवल । रुपन्देहीमा १८ बर्षभन्दा माथिकै सबैले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीले असोज २२ र २३ गते सबै स्थानीय तहलाई उक्त उमेर समूहका व्यक्तिलाई खोप लगाउन पत्र काटेको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लाका सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र गरी असोज २२ र २३ गते कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको हो।
"१८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोभिड विरुद्धको भेरोसिल खोपको दशैँ अगाडी नै लगाउनु पर्ने भएकाले असोर २२ र २३ गतेसम्म खोप कार्यक्रम सबै पालिकाहरुमा एकै साथ लगाउने व्यवस्था मिलाउनु हुन अनुरोध छ," पत्रमा भनिएको छ।
हालसम्म रुपन्देहीमा लक्षित जनसंख्याको २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसङ्ख्या रहेका छन्।
त्यस्तै लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।