बुटवल । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त गौतम निर्वाचित हुनुभएको छ ।
आज दाङ्गको राप्ती गाउँपालिकामा सम्पन्न प्रथम अधिबेशनले अधिवक्ता गौतमको अध्यक्षतामा आगामी तिन वर्षका लागि नयाँ लुम्बिनीप्रदेश स्तरिय कार्यसमितिको निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचित समितीको उपाध्यक्षमा सुशीला गैरे र नारायण प्रसाद रेग्मी, सचिवमा दामोदर घिमिरे र सहसचिवमा छन्द बहादुर बस्नेत रहनुभएको छ । कोषाध्यक्षमा मिनाश्री न्यौपानेका साथै सदस्यहरुमा राधिकार खड्का, लेखनाथ भट्राई, दलबहादुर सुनार, र मिनु वली शाह निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले पोलिब्यरो सदस्य, सामाजिक बिकाश समितिका संयोजक एवं मानवअधिकार एलाइन्स इन्चार्ज पार्वत गुरुङ्गले सामाजिक न्याय र सुशासनमा सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
लैङ्गिक समानता, संक्रमणकालिन न्याय लगायतका विषयहरुमा छलफल गरी १५ बुँदे घोषणा पत्र जारी गर्दै अधिवेशन सम्पन्न भएको सचिव घिमिरेले जानकारी दिनुभयो ।
अधिवेशनमा मानव अधिकार तथा सामाजिक न्यायको वर्तमान अवस्था, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार उपभोगको अवस्थाका बारेमा छलफल भएको थियो । अधिबेशनले लुम्बिनी प्रदेशमा लैंगिक हिंसाका घटनाको बढोत्तरी भैरहेको प्रतिचिन्ता प्रकट गर्दै घटनाको रोकथाम र पीडितको न्यायमा जोड दिएको छ ।
अधिवेसनमा उपभोक्ता अधिकारको संरक्षण, खाद्य सुरक्षा,जातीय बिभेदको अन्त्य गर्न सरकारी र गैर सरकारी कदम प्रभावकारी हुनुपर्ने निश्कर्ष निकालिएको छ ।
सामाजिक र आर्थिक रुपान्तरणका लागीमानवअधिकारको सुनिश्चितता, सुसँस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजना गरिएको अधिवेशनमा प्रदेशमा मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशिल संस्थाहरुको प्रतिनिधित्व गर्दै १२ जिल्लाका ४० बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।