काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ ।
सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको भेटघाट कार्यक्रममा बोल्नुहुँदै सञ्चार मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताउनुभएको हो ।
उहाँले त्यसका लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गर्नुभयो । मन्त्री शर्माले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘आमसञ्चार क्षेत्रका विज्ञहरूको समेत सुझाव लिएर सरकारलाई मिडिया विधेयकका बारेमा तत्काल सल्लाह सुझाव दिन आग्रह गर्दछु । सरकारले संसदमा पेस भएर बसेको मिडिया विधेयकहरू अगाडि बढाउने कार्ययोजना बनाएर अगाडि बढ्ने तयारीमा छौँ । मिडिया र आम सञ्चारको क्षेत्रलाई आवश्यक ऐन कानुन र अन्य काम गर्दा सरकार र सरोकारवाला निकायहरू सहकार्यमा अगाडि बढ्न सरकार तयार रहेको छ ।’’
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानुन बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो ।