काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनुभएको थियो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभयो ।
उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्व हुँदै गएको उल्लेख गर्नुभयो ।
प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकामा राष्ट्रपति पौडेलप्रति बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।