रुपन्देही । नेपाली सेनाले गोरखाबाट सुरु गरेको गोरखा —जितगढी पदयात्रा बुटवलमा आएर समापन भएको छ । चैत्र २८ गतेदेखि शुरु भएको प्रथम ऐतिहासिक गोरखा—जितगढी एकीकरण मार्ग पदयात्रा विरताको चिनो जितगढी किल्लामा आएर समापन भएको हो ।
राष्ट्रिय झण्डाका साथमा जितगढी आइपुगेको टोलीले कर्णेल उजिर सिंहको शालिकमा माल्यार्पणपछि यात्राको समापन भएको थियो ।
पाल्पाको नुवाकोटदेखि बुटवल आएको टोलीलाई पुरानो बुटवल स्थित सिद्धिविनायक गणेश मन्दिरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज र नेपाली सेनाको मध्य पश्चिम पृतना बुटवलका पृतनापति यामप्रसाद ढकालसहित विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वागत गर्नुभएको थियो ।
उपमहानगरको आह्वानमा पदयात्रीलाई स्वागत गर्न विभिन्न जात जाती र झाँकीसहित कला र संस्कृति प्रस्तुत गर्दै विभिन्न समूहको टोली गणेश मन्दिर पुगेको थियो ।
उक्त टोली जितगढीमा आए पश्चात विजयोत्सवमा सहभागी भएको थियो । सो अबसरमा सेनाको टोलीले विभिन्न कला कौशल प्रदर्शन गरेको थियो ।
नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट विभिन्न जिल्ला हुँदै जितगढीका लागि निस्केको थियो ।
नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा हिँडेको थियो ।
गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गरेको थियो ।
यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी थिए । सो टोलीले गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा पार गरेको छ ।
वि.सं. १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले विरता र निडरताका साथ लडाई लडेर विजयको झण्डा फहराएको थियो ।
इतिहासविद् निर्मल श्रेष्ठका अनुसार युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स.१८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ ।
स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध सुरुगरेपनि जितगढी कमाण्डमा कर्णेल उजीरसिंह नेतृत्वको नेपाली फौजले कम्पनी सेनालाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो ।
१८७१ देखि १८७२ सम्म नेपाल÷अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । तर, वैशाख ७ गते भएको अन्तिम युद्धमा नेपाली सेना विजयी भएको थियो । सोही खुशीयालीमा आज जितगढी किल्लामै विजय उत्सव मनाइएको थियो ।
पर्यटन प्रवद्र्धन गर्ने र नागरिकसँगको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले सेनाको टोली पदयात्रा निस्किएको थियो । पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा पाल्पा हुँदै बुटवल आएको थियो ।
नेपालको राष्ट्रिय झण्डाका साथमा नेपाली सेनाको श्रीनाथ गण, पुरानो गोरख गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित पदयात्रा सुरु भएको थियो ।
“राष्ट्रिय एकताको सन्देश दिनुका साथै नागरिकसँगको सम्बन्ध अझै प्रगाढ बनाउन पैदलयात्रा थालिएको हो । यो यात्रामा सर्वसाधारणको न्यानो स्वागत र सम्मान मिल्यो”, पृतनापति ढकालले भन्नुभयो । उहाँले सेनाको टोलीले दैनिक ४० किलोमिटर पैदलयात्रा गरेको बताउनुभयो । “हामी अहिले पर्यटन प्रवद्र्धनलाई महत्व दिएर काम गरिरहेको छौँ, जितगढीसँगै माथागढीको विकासमा पनि लागेका छौँ, आशा छ यसले आन्तरिक पर्यटनमा प्रवद्र्धनमा टेवा पुग्ने छ”, उहाँले थप्नुभयो ।
जितगढी किल्ला हस्तान्तरण कार्यक्रम स्थगित
अङग्रेजसँगको युद्धमा नेपालले विजयी हासिल गरेको बुटवलको जितगढी किल्ला हस्तान्तरण कार्यक्रम स्थगित भएको छ ।
ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी बिजय हासिल गरेको दिन आज वैशाख ७ गते जितगढी विजय उत्सव समारोहमा नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई बुटवलको जितगढी किल्लामा नवनिर्मित संरचना हस्तान्तरण गर्ने कार्यक्रम रहेपनि हाललाई स्थगित भएको नेपाली सेनाको मध्य पश्चित पृतना बुटवलले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा पुर्नउत्थान गरिएको जितगढी किल्ला हस्तान्तरण कार्यक्रम तय गरिएको थियो तर उहाँ अस्वस्थ भएपछि कार्यक्रम पछि सारिएको मध्य पश्चित पृतनापति ढकालले जानकारी दिनुभयो ।