बुटवल- नेपाल युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा रुपन्देहीमा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ ।
मञ्चको आयोजनामा बुटवलमा यही कात्तिक २३ गते शनिबार महिला उद्यमी सम्मेलन आयोजना हुने छ ।
नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्दीप कसौधनका अनुसार सम्मेलनमा १३ जना उद्यमीहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । तिलोत्तमा योगीकुटीमा रहेको होटल पौवामा २३ गते शनिवार बिहान ८ बजेबाट सुरु हुने सम्मेलन साँझ ५ बजे सम्म चल्ने कार्यक्रम संयोजक ऋचा श्रेष्ठले जानकारी दिइन् ।
सम्मेलनमा सफल युव उद्यमीहरुको सफलताको कथा सहित नेपाल सरकारले युवा उद्यमीहरुको लागि ल्याएका विभिन्न योजना, उद्यमीले सुरु गर्न चाहेको विजनेश प्लान लगायतका विविध विधामा छलफल तथा प्रस्तुतीकरण हुने छन् ।
करिब २ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको सम्मेलनमा १ हजार रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जसमा खाना, खाजा समेत आयोजकले उपलब्ध गराउने छन् ।
सम्मेलनमा ईन्टरटेच ग्रुप अफ ईडष्ट्रिजका निर्देशक श्रृष्टी गुरुङ्ग, नेपाल अचार उद्योगकी को फाउन्डर संगीता पाण्डे, सिलभरलिनिङ्ग ईभेट्सकी को फाउन्डर निसि टिब्रवाला खेतान, लाईम एण्ड लेमन ग्रुपका सागर पौडेल, सोही ग्रुपकै जया बराल, युजि केकका को–फाउन्डर निकिता आचार्य, भूमि रेष्टुरेन्ट लगायत भाखा हर्वलका फाउन्डर उपस्ना श्रेष्ठ, समाजसेवी नेहा अग्रवाल, विजनेश प्रमोटर एडभाईजर दिप्ती खकुरेल, लक्ष्मी बैंकका स्टाटेजी एण्ड माकेटिङ्ग हेड भारती पाण्डे, विलेज मिडियाकी म्यानेजिङ्ग डाईरेक्टर जुना माथेमा, आईकन लनिङ्ग सेन्टरका विशाल श्रेष्ठ, चार्टड एकान्उटेन्ट हरि लम्साल लगायतले कार्यपत्र प्रस्तुत गर्नुको साथै छलफलमा भाग लिने छन् ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा सफलताको कथा, प्यानल डिष्कसन, सहभागीका प्रश्न, जिज्ञासाहरुको समाधान गर्नको लागि कार्यशाला गरिने छ ।